डडेल्धुरा : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता स्थायी कमिटी सदस्य समेत रहेका खगराज भट्टलाई बनाउन तेस्रोपटक परिपत्र पठाएको छ।
केन्द्रीय समितिको बैठकले गरेको निर्णय भन्दै हिजो पठाइएको परिपत्रमा भट्टलाई संसदीय दलको नेता बनाउन निर्देशन दिइएको हो।
केन्द्रले भट्टलाई संसदीय दलको नेता बनाउन तेस्रोपटक सर्कुलर जारी गरेको हो।
अध्यक्ष पुष्षकमल दाहाल (प्रचण्ड) र सचिव देव गुरुङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘१२ असार २०८१ को चलानी नं २४४ को यस केन्द्रीय कार्यालयबाट सुदुरपश्चिम प्रदेशसभा दल नेता चयन सम्बन्धी जारी गारिएको निर्देशनलाई केन्द्रीय समितिको छैठौं पूर्ण बैठक (पौष २१-२३) ले अनुमोदन गरेको हुनाले उक्त निर्णयलाई यथाशिघ्र कार्यान्वयन गर्न र गराउनु हुन निर्देशन गरिएको छ।’
१२ माघ २०८०देखि नेकपा माओवादी केन्द्र, सुदूरपश्चिम संसदीय दलमा विवाद छ।
सो दिन ११ जना सदस्य रहेको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो।
बहुमत सदस्यहरूले त्यतिबेला प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेका थिए।
भट्टलाई संसदीय दल नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए।
त्यसको ५ महिनापछि असार पहिलो साता प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए।
उनले पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्द बनाउन निर्देशन दिएका थिए।
त्यसपछि प्रचण्डले लिखित रूपमै खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका थिए।
२ भदौमा नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएका थिए। तर, प्रचण्डको निर्देशन सुदूरपश्चिमका सांसदले टेरेका थिएनन्।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले सुदूरपश्चिम संसदीय दलको नेताबारे तीनपटक पार्टी अध्यक्ष प्रचण्डले सर्कुलर गरिसकेको बताए।
उनले अध्यक्षको सर्कुलर सबैले मान्नु पर्ने बताए।
उनले भने, ‘सुदूरपश्चिमका संसदीय दलको बैठक बस्छ। त्यो बैठकबाट खगराज जीलाई नै संसदीय दलको नेताका लागि सिफारिस गर्नुपर्छ।’
साउनसम्म माओवादी सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्जसमेत रहेका खगराज भट्ट भूमिकाविहीन बनेका थिए। केही दिनअघि मात्रै सह-इन्चार्जको जिम्मेवारी पाएका उनी सन्तुष्ट छैनन्।
उनले प्रदेशसभा बैठकहरूमा समेत सहभागिता जनाउन छोडेका छन्।
यसबीच, संसदीय दलमा रहेका केही नेताहरूले खगराजलाई दल नेता बनाउन गिरिराजमणि पोखरेललाई प्रदेश इन्चार्जबाट हटाउनुपर्ने सर्त राखेका छन्।

‘पोखरेलका कारण खगराज बलियो भएका छन्, त्यसैले उनलाई हटाएपछि मात्र खगराजलाई सहज रूपमा नेता बनाउन तयार हुन्छौँ,’ एक नेताले बताए।
तर, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने पोखरेललाई हटाउन तयार छैनन्।
माओवादीभित्रका नेताहरूका अनुसार खगराज प्रचण्ड निकट नभएकाले पनि नेतृत्व परिवर्तन अन्योलमा परेको हो।
संसदीय दलको नेतृत्व परिवर्तन रोकिनुको पछाडि माओवादी उपमहासचिव वर्षमान पुनको भूमिका रहेको माओवादीभित्रकै नेताहरू बताउँछन्।
पुनले धामीलाई नेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। केही दिनअघि धनगढीमा पत्रकार सम्मेलनमा पुनले सुदूरपश्चिम प्रदेश संसदीय दलमा उत्पन्न विवादलाई छलफलमार्फत समाधान गर्नुपर्ने बताएका थिए।
उनले पार्टीको सुझावअनुसार संसदीय दलले निर्णय गरेर विवाद समाधान गर्नुपर्ने धारणा राखेका थिए।
विगतमा खगराज बाबुराम भट्टराई समूहमा रहेका कारण प्रचण्डले उनलाई नेतृत्वमा फर्काउने देखावटी प्रयास गरे पनि व्यवहारमा धामीलाई नै कायम राख्न खोजेको नेताहरू बताउँछन्।
सुदूरपश्चिममा माओवादी संसदीय दलको विवाद झन् जटिल बनेको छ।
अध्यक्ष प्रचण्डको निर्देशन पटक-पटक असफल हुनुले माओवादीभित्रको गुटबन्दी थप बलियो भएको देखिएको छ। दलभित्र बहुमत सिद्ध गर्न नसक्दा नेतृत्व परिवर्तन सम्भव देखिँदैन।
अब यो विवाद कहिलेसम्म लम्बिन्छ भन्ने प्रश्न माओवादीभित्र र बाहिर पनि उठ्न थालेको छ।
र, यो पनि :
खगराजको पद घटुवा, सह-इन्चार्ज बनाइएपछि लेखे— ‘कागलाई बेल पाक्यो’
माओवादी केन्द्रले तोक्यो सुदूरपश्चिमको इन्चार्जमा गिरिराजमणि, सह-इन्चार्जमा खगराज र बिना
इन्चार्ज खोसिएपछि प्रचण्डलाई खगराजले सोधे यी चार प्रश्न
आफ्नो ३४ वर्षको राजनीति जीवन सिध्याउने डिजाईन अस्वीकार्य : खगराज भट्ट
खगराजलाई इंगित गर्दै मालले लेखे–विवादको मुख्य समस्या आत्मकेन्द्रित व्यक्तिवाद हो
खगराज पत्नी मन्जु ‘फायर’, मालले २० वर्ष घर बसेकी स्वास्नीलाई सांसद बनाएको आरोप