

डडेलधुरा : हातमा नाङ्गा खुकुरी र तरबार, कानमा परम्परागत बाजागाजाको गुञ्जन अनि चौलोको लयमा झुमिरहेका स्थानीय ।
कोही देवीदेवताको दर्शनमा व्यस्त त कोही आफन्त र इष्टमित्रसँगको भेटघाटमा । यही दृश्यले शुक्रबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित लाटागन्याप मन्दिर परिसरलाई उल्लासमय बनायो ।

हरेक वर्ष लाग्ने प्रख्यात बडाल जाँतमा यस वर्ष पनि भक्तजन तथा दर्शनार्थीको उल्लेख्य सहभागिता रह्यो । डडेल्धुरासहित डोटी, बैतडी र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भक्तजन मेला भर्न पुग्नुभएको थियो ।


मेलाको मुख्य आकर्षण बन्यो, खुकुरी र तरबारसहित खेलिने परम्परागत चौलो । दाइन, दमाहा, रुइसिंग र भोक्करलगायतका बाजागाजाको तालमा स्थानीयले ढाल, खुकुरी र तरबार खेलाउँदै चौलो प्रस्तुत गर्दा मन्दिर परिसर गुञ्जायमान बनेको थियो । चौलोको यही मौलिक लय र प्रस्तुतिले बडाल जाँतलाई अन्य मेलाभन्दा फरक पहिचान दिएको छ ।
स्थानीय जनविश्वासअनुसार शुक्ल नवमीको राति पूजा गरी जाग्राम बसेर भोलिपल्ट बिहान लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुन्छ । देवीदेवताको दर्शन र आशीर्वाद प्राप्त हुने विश्वासका साथ टाढाटाढाबाट समेत भक्तजन यहाँ पुग्ने गरेका छन् ।

बिहीबार बेलुकीदेखि विधिवत् रूपमा देवताको पूजाआजा सुरु भएको थियो । शुक्रबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसो मेला सुरु भएको स्थानीय कर्णसिंह मालीले बताउनुभयो । उहाँका अनुसार गन्याप देवताको भक्तिस्वरूप खेलिने चौलो बडाल जाँतको विशेष आकर्षण हो ।
प्राचीनकालदेखि चलिआएको यो परम्परालाई स्थानीयले धार्मिक आस्थासँगै मौलिक संस्कृति र पहिचानका रूपमा जोगाउँदै आएका छन् । बडाल जाँतमा कुजाकोट, रुमायल, बडाल र चप्साललगायतका स्थानबाट देवरो ल्याउने गरिए पनि मूल देवरो भने मालीगाउँबाट ल्याउने परम्परा रहेको स्थानीय रामबहादुर देउवाले जानकारी दिनुभयो ।
गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बडाल जाँतको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखेर शुक्रबार पालिकाभर स्थानीय बिदा दिइएको बताउनुभयो ।

