

धनगढी : नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विद्यार्थीहरूमा बीमासम्बन्धी ज्ञान, चेतना, सिर्जनशीलता तथा विश्लेषणात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईवटा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्राधिकरणले विद्यालय तहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी प्रदेशस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्राधिकरणका अनुसार हाजिरी जवाफ प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। प्रत्येक विद्यालयबाट एउटा समूह सहभागी हुनेछ। प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसम्बन्धी जानकारी, जीवन तथा निर्जीवन बीमा, पुनर्बीमा, लघुबीमा, बीमासम्बन्धी कानुनी व्यवस्था तथा समसामयिक घटनाक्रमलगायतका विषय समेटिनेछन्।
उक्त प्रतियोगितामा उत्कृष्ट हुने तीन समूहलाई प्रमाणपत्रसहित क्रमशः प्रथम पुरस्कार रु. २० हजार, द्वितीय पुरस्कार रु. १५ हजार र तृतीय पुरस्कार रु. १० हजार प्रदान गरिनेछ।

त्यसैगरी, स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि “सुदूरपश्चिम प्रदेशको आर्थिक रूपान्तरणमा बीमाको भूमिका : चुनौती र सम्भावना” शीर्षकमा प्रदेशस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिने भएको छ। नेपाली वा अंग्रेजी भाषामा अधिकतम १५०० शब्दमा निबन्ध तयार गर्नुपर्ने व्यवस्था गरिएको छ।
निबन्ध प्रतियोगितामा विषयवस्तुको ज्ञान, भाषा तथा शैली, संरचना, सिर्जनशीलता र व्याकरण तथा शुद्धलेखनका आधारमा मूल्याङ्कन गरिनेछ। उत्कृष्ट तीन निबन्धलाई प्रमाणपत्रसहित क्रमशः रु. १५ हजार, रु. १० हजार र रु. ५ हजार पुरस्कार प्रदान गरिनेछ।
दुवै प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र आवश्यक विवरण तथा कागजातसहित नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयको इमेल ठेगाना [email protected] मा आवेदन तथा आफ्नो सहभागिता पठाउनुपर्नेछ।
यस कार्यक्रमले विद्यार्थीहरूमा बीमासम्बन्धी ज्ञान र चासो अभिवृद्धि गर्नुका साथै विद्यालय तथा विश्वविद्यालय तहदेखि नै बीमाको महत्व, आर्थिक सुरक्षा र वित्तीय सचेतनाबारे सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बीमालाई केवल आर्थिक जोखिम हस्तान्तरणको माध्यमका रूपमा मात्र नभई व्यक्तिगत, सामाजिक तथा समग्र प्रदेशको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना गर्न लागिएका यी प्रतियोगिताले सुदूरपश्चिम प्रदेशमा बीमा सचेतना विस्तारमा थप टेवा पुर्याउने विश्वास गरिएको छ।

