

डडेल्धुरा : मिजुन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।


यस सम्बन्धमा आयोजित औपचारिक कार्यक्रममा भिजन लुम्बिनी लिमिटेडका तर्फबाट अध्यक्ष जगत पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।
मिजुन लुम्बिनी लिमिटेड नेपालका लगानी क्षेत्रको विकास र विस्तारमा योगदान गर्दै आएको सार्वजनिक लगानीमूलक कम्पनी हो।
कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायत उत्पादनशील र प्रशोधन क्षेत्रमा लगानीका अवसर पहिचान, अध्ययन, विश्लेषण तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ।
स्वदेशी पुँजी र स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत लगानीका नयाँ सम्भावना खोजी गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने कम्पनीको लक्ष्य रहेको छ।
सोहीअनुरूप कम्पनीले दीर्घकालीन लगानी रणनीति, व्यावसायिक व्यवस्थापन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आएको छ।
कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ।
भविष्यमा नयाँ तथा सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गरी राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र नेपालको आर्थिक विकासमा थप योगदान पुर्याउने लक्ष्य कम्पनीले राखेको छ।

