

डडेल्धुरा : डडेल्धुरामा मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरण, घरमै हुने प्रसूति रोकथाम र किशोरावस्थामा हुने गर्भधारण घटाउने विषय स्वास्थ्य क्षेत्रका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
स्वास्थ्य कार्यालय डडेल्धुराले आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा यी विषयलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षका लागि सुधारका योजना तय गरिएको छ।


कार्तिक १३ र १४ गते होटल राइनोमा सम्पन्न दुईदिने गोष्ठीमा जिल्लाका सातवटै स्थानीय तह, अस्पताल, स्वास्थ्य संस्था तथा सहयोगी निकायले गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा गरेका थिए।

समीक्षाका क्रममा जिल्लाको स्वास्थ्य सेवा प्रवाहमा सुधार गर्नुपर्ने पक्ष, कार्यक्रम कार्यान्वयनका चुनौती तथा आगामी कार्यदिशाबारे छलफल गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदले जानकारी दिए।
उनका अनुसार विशेषगरी गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै घरमै हुने प्रसूति दर घटाउने र २० वर्षमुनिको उमेरमा हुने गर्भधारण न्यूनीकरण गर्ने विषयमा जोड दिइएको थियो।

त्यस्तै परिवार नियोजनका साधनको प्रयोग बढाउने, गर्भपतनको संख्या घटाउने, क्षयरोग तथा कुष्ठरोगको समयमै पहिचान र उपचार गर्ने तथा नसर्ने रोगको व्यवस्थापनलाई प्रभावकारी बनाउने योजना अघि सारिएको छ।
विद्यालय तथा समुदायस्तरमा स्वास्थ्य शिक्षा र जनचेतना विस्तार गर्दै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवाको गुणस्तर सुधार गर्नुपर्ने निष्कर्षसमेत गोष्ठीले निकालेको छ।
स्वास्थ्य निर्देशनालय डोटी, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधिहरूको सहजीकरणमा सम्पन्न गोष्ठीमा सातवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख, अस्पताल तथा विभिन्न सहयोगी संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता तथा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदको अध्यक्षतामा सम्पन्न गोष्ठीले निर्धारित स्वास्थ्य लक्ष्य हासिल गर्न सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।
गोष्ठीको समापनमा सहभागी स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख तथा सहयोगी संस्थाहरूलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

