आफ्नो ३४ वर्षको राजनीति जीवन सिध्याउने डिजाईन अस्वीकार्य : खगराज भट्ट
संसदीय दलको नेताबाट पदमुक्त भएपछि भट्ट तनावमा थिए
डडेल्धुरा । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टले सुदुरपश्चिम प्रदेश पार्टी र आफ्नो ३४ वर्षको राजनीति जीवन सिध्याउने डिजाईन स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
उनले बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत अभिव्यक्ति सार्वजनिक गरेका छन् । डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ को (क) प्रदेश सभा सदस्यमा निर्वाचित माननीय भट्टलाई नेकपा माओवादी केन्द्र सुपको संसदीय दलको नेताबाट हटाएपछि उनी पार्टी नेता संग असन्तुष्ट हुदै आएका थिए । आफ्नो पद बचाउन उनी पार्टी केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेका थिए । पार्टी केन्द्रिय अध्यक्षले यो बारेमा पछि बुझेर निर्णय लिने भन्दै उनिलाई फिर्ता पठाएका थिए ।
नेता भट्ट आफु सहित केही नेता लगेर पुनः पार्टी अध्यक्षलाई भेटेको एक नेताले मिमाना न्युनलाई जानकारी दिए । संसदीय दलको नेतामा पुनः फर्काउन दबावका लागी गएका नेतालाई कानुनी प्रक्रिया बुझेर सकेसम्म पदवहाली गर्ने संगै अन्य आश्वासन दिएर पठाएको थियो ।
संसदीय दलको नेताबाट पदमुक्त भएपछि भट्ट तनावमा थिए । पार्टी स्थायी समितिको बैठकले सबै प्रदेशका ईन्चार्ज, सह–ईन्चार्जको जिम्मेवारी तोक्दा खगराज सो जिम्मेवारीमा पनि अटाएनन् । पार्टीले सरकारमा प्रतिनिधि रहेकालाई जिम्मेवारी नदिने भनेपछि उनले सो जिम्मेवारी पाएनन् ।
मुख्यमन्त्रीको सपना बोकेर प्रदेशसभा सदस्य रहेका भट्टलाई पार्टी भित्रैबाट पटक पटक जिम्मेवारी खोस्ने, प्रदेश सरकारमा विना विभागीय मन्त्री बनाएर सरकारबाट बाहिर बोलाउने र पाएको जिम्मेवारी समेत उनलाई नसोधी हटाउने जस्ता क्रियाकलापले भट्ट कमजोर हुदै गएको पाईन्छ ।