डडेल्धुराः नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले माओवादी केन्द्र सुदूरपश्चिममा देखिएको विवादको मुख्य समस्या आत्मकेन्द्रित व्यक्तिवाद रहेको बताएका छन्।
आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले यो प्रवृत्तिले आफूलाई केन्द्रमा राखेर व्यक्तिगत लाभहानीका आधारमा छिटै तरंगित हुने, प्रतिक्रिया दिने, समीकरण बन्ने बनाउने, व्यक्तिहरू उचाल्ने पछार्ने अनि बिषयहरु छरपस्ट गरिदिने बताएका हुन्।
उनले व्यक्तिगत हितका लागि हुने अभ्यासले तत्काल लाभ देखिएपनि त्यसले अर्कोतर्फ आफ्नैविरूद्ध खाल्डो खनिरहेको हुने जिकिर गरेका छन्।
हिजो मात्रै सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीका पुराना र शीर्ष नेता खगराज भट्टले आफूमाथि अन्याय भएको र आफ्नो ३४ वर्षको राजनीति जीवन सिध्याउने डिजाईन स्वीकार्य नहुने चेतावनी दिएका थिए।
भट्टको उक्त चेतावनीपछि मालको प्रतिक्रिया आएको बुझिएको छ।
यसैबीच मालले पार्टी निर्माणका लागि १० बुदे सुझाव दिएका दिएका छन्।
१.विषय एउटा पात्र र प्रवृत्तिको होइन, समग्र र सबैको हो। घटनाक्रमको विकासलाई बस्तुसम्मत नभई मनोगत रूपमा हेर्ने प्रवृतिले हामीले हाम्रा दिमागमा लागेका बिर्कोहरु खोलेर आफ्नो दिमाग प्रयोग ग¥यौं कि नितान्त आफू या आफ्नो गुटका लागि र अझ गुटको अस्तित्व पनि व्यक्तिगत चाहना पूरा गर्न, अरुबाट सदैव प्रयोग भयौं कि भएनौं? यसको समीक्षा जरूरी छ।
२. दोस्रो समस्या हामी आफैंले आफुलाई चिन्न नसक्नु हो। आफ्नो क्षमता विश्वास नगर्ने तर भनसुन या अमूक समूह केन्द्रसँग जोडिएर या अर्काको मृत्युमा जीवन खोजेर आफ्नो नेतृत्व विकास गर्न खोज्नु हो। यसबाट हामी बिद्रोही हो कि संस्थापन हो भन्ने सम्म छुट्याउन नसक्ने भयौं। कहिलेकाहीँ कस्तो देखिन्छ भने जो संस्थापन हो उ इतरपक्ष भन्दा बढी असन्तुष्ट प्रतिपक्षी मानसिकता र बिद्रोही भएर प्रकट हुने। अर्कोतिर जो प्रतिपक्षी वा इतर पक्ष हो उ संस्थापन जस्तो देखिने र समस्या सदैव प्रकट भैरहने गरेको छ। तर ढिलो चांडो यसको पटाक्ष गर्नुको विकल्प छैन। सधैं निकास केन्द्रबाट खोजेर मात्र हल हुँदैन। जो जती वरिष्ठतम् हुन्छ उ त्यतिनै जिम्मेवार र सहनशिल हुन सक्नुपर्छ। सबै पक्ष र प्रवृतिलाई चिन्ने र ती सबैलाई समेटेर अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैगरी सोपानक्रम अनुसार सबैले सम्हालिन जरुरी छ। जसमा हामी असफल भैरहेका छौं।
३. तेस्रो समस्या भनेको अगाडि हिंड्न त परको कुरा हो अगाडि फर्कन पनि नसक्ने र विगत र इतिहासमा मात्रै फर्कने अनि त्यसैको आधारमा मानसिकता बनाउने समस्या छ। इतिहासको ब्याजले मात्र अहिलेको गतिशील वर्तमान धान्न सक्दैन भन्ने बुझ्ने कि नबुझ्ने ?
४. चौथो समस्या नयाँलाई निषेध गर्ने प्रवृति हो। नयाँलाई निषेध गर्ने र फरक बिचार राख्ने बित्तिकै तेजोवध गर्ने अर्को समस्या हो। जसको सिकार सुपमा कुनैनकुनै समयमा सबै भएकै छौं।
५. पाँचौ समस्या भनेको आफुलाई चिन्न नसक्ने सधैं सहारा खोज्न भौतारिरहने र मुल नेतृत्व भन्दा बढी बाहिर दौडिने हो। मुलतः मुल नेतृत्वमा केन्द्रित भएर सहायक नेतृत्वहरुसंग समन्वय गर्दै अगाडि बढ्ने कुरा सहि र वैज्ञानिक हो। तर, यहाँको समस्या भनेको सहायक नेतृत्वहरुमा यति केन्द्रित भैदिने कि मुल नेतृत्व छ भन्ने सम्म पनि बिर्सने समस्या गम्भीर किसिमको छ।
६. छैठौं समस्या नेतृत्व प्राप्त गरिसकेपछी नेतृत्व गर्न सक्नुपर्छ होइन भने छोड्नुपर्ने हुन्छ । तर यहाँ टांसिरहने समस्या छ। त्यसका निमित्त के सहि के गलत जोसंग पनि सम्झौता गर्ने अर्को समस्या छ।
७. सातौं समस्या भनेको कमिटी भेला सम्मेलनमा नबोल्ने सकभर सबै समय नबस्ने तर सामाजिक सञ्जाल, चोक चौराह चियापसल र भट्टिहरुमा बिषयहरु छरपस्ट गर्दै तिलको पहाड बनाउने अहिलेको प्रमुख समस्या हो।
८.आठौं समस्या भनेको नेतृत्व समक्ष सहि र यथार्थ रिपोर्ट प्रस्तुत गर्नेभन्दा पनि के भन्दा नेतृत्व खुशी हुने हो त्यही प्रस्तुत गर्ने प्रवृतिको विकास हुनु हो।
९.नवौं समस्या भनेको कुनैपनी तहमा वरिष्ठता, योग्यता, क्षमता र सामाजिक मनोबिज्ञान समेट्न सक्नेलाई जिम्मेवारी प्राप्तिको आधार बनाउन नसक्नु। आफू अनुकुल मात्र चलाउनु खोज्नुले समस्या निम्तिरहेको छ।
१०. दशौं समस्या भनेको सबैमा र सबैको एउटै चिन्तन प्रवृत्ति भनेको प्रतिपक्षी र विद्रोही भैरहने। सदैव प्रतिपक्षी र विद्रोही कार्यले अराजकता निम्त्याइरहने गर्छ। जसकारण लोकतान्त्रिक मान्यतालाई पनि स्वीकार गर्न नसक्ने भएका छौं भने अर्कोतर्फ केन्द्रियता पनि लागू गर्न नसक्ने र जनवाद नमान्ने अर्को समस्या छ।