
डडेल्धुरा : महिला सशक्तीकरण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण तथा आत्मनिर्भरता कार्यक्रम’ अन्तर्गत ७ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ।
नवदुर्गा गाउँपालिका–३ डाँडावनमा यहीँ चैत १२ देखि १८ गतेसम्म सञ्चालन गरिएको उक्त तालिम सामाजिक विकास कार्यालय, डडेल्धुराको आयोजनामा सम्पन्न भएको हो।


तालिममा सहभागी महिलाहरूलाई नेतृत्व विकास, तरकारी खेती, पशुपालन तथा रोग व्यवस्थापन जस्ता व्यावहारिक विषयमा प्रशिक्षण दिइएको थियो।
तालिममा सहभागी महिला बसन्ती बिकले नेतृत्व र नेताबीचको फरक बुझ्न पाएको बताउँदै कृषि र पशुपालनसम्बन्धी ज्ञानले आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै अर्की सहभागी बागमती भट्टले बचत गर्ने बानी विकास, सूचना लिने तरिका तथा गुनासो गर्ने प्रक्रियाबारे सिक्न पाएको बताइन्।


कार्यक्रममा बोल्दै पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै सहभागी महिलाहरूलाई सफलताको कथा लेख्न प्रेरित गरे।
नवदुर्गा गाउँपालिका–३ का वडाध्यक्ष भक्तबहादुर कठायतले सबैले नेता बन्ने होड नगरी सक्षम नेतृत्व विकासमा जोड दिनुपर्ने बताए। उनले विगतका तालिमलाई स्मरण गर्दै तालिममा सिकेको सिप व्यवहारमा उतार्नु आवश्यक रहेको औल्याए।
‘नेतृत्व सिकेर समाज परिवर्तन गर्न सकिन्छ,’ उनले भने।

सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मिनबहादुर लामिछानेले तालिमले महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउने विश्वास व्यक्त गरे।
तालिमले स्थानीय महिलाहरूको सीप, आत्मविश्वास र आयआर्जन क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ।




