

डडेल्धुरा : राजनीतिमा अवसरका लागि आफ्नै काकासँग फरक कित्तामा रहेका गोविन्दराज बोहरा पछिल्लो समय पुनः काकासँगै नजिकिएका छन्।
नाताले काका–भतिजा पर्ने अमरगढी नगरपालिका–३ चम्सालका दुई गोविन्दराज बोहराबीच पछिल्लो समय राजनीतिक निकटता बढेको हो।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज बोहरा र उनका भतिजा तथा जिल्ला कमिटी सहसचिव गोविन्दराज बोहराबीच विगतमा राजनीतिक दूरी थियो।
पार्टीभित्र फरक धारमा उभिँदै उनीहरू एकअर्काप्रति आलोचनात्मकसमेत देखिने गरेका थिए।
केही दिनअघिसम्म काकाको विरोधमा देखिएका भतिजा गोविन्दराज बोहरा कांग्रेसको १५औँ महाधिवेशनमा भने काकासँगै एउटै कित्तामा देखिएका छन्।
पछिल्लो समय दुवै नेता कांग्रेस सभापति गगनकुमार थापा पक्षमा खुलेर नजिकिएका हुन्।
काकालाई छोडेर उनी सुदूरपश्चिमकी पूर्वराज्यमन्त्री सरस्वती खड्का निकट भएका थिए।

खड्काको कांग्रेस नेतृ आरजु राणा देउवासँग राम्रो सम्बन्ध रहेको बताइन्छ।
कांग्रेस नेता तारक बुढाऐरका अनुसार राजनीतिक लाभको अपेक्षासहित बोहरा खड्का निकट भएका थिए।
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष, भूमि समस्या समाधान आयोगको अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश नीति आयोगको सदस्य बन्न उनले पहल गरेका थिए।
तर, उनलाई तीमध्ये कुनै पनि पदमा राजनीतिक नियुक्ति दिइएन।
पछिल्लो समय कांग्रेसभित्र राजनीतिक समीकरण फेरिएसँगै काका–भतिजाको सम्बन्धमा पनि नयाँपन देखिएको छ।
भतिजा गोविन्दराज बोहरा अमरगढी नगरपालिकाको मेयर पदका लागि दाबेदारका रूपमा समेत चर्चामा छन्।
यता, बोहराले भने आफूले राजनीतिक अवसरका लागि राजनीति नगरेको बताए।
उनी आफू सधैं निष्ठाको राजनीति गर्ने गरेको बताउँछन्।
उनले पार्टीको राजनीतिक नियुक्तिका लागि आफूले कुनै ठाउँमा दाबी/पहल नगरेको जिकिर गरे।

