

डडेल्धुरा : लगातार परिरहेको वर्षाका कारण गएको पहिरोले डडेल्धुराको भागेश्वर गाउँपालिका–४ शानमा गरिएको व्यावसायिक कफी खेतीमा क्षति पुगेको छ।
सान एग्रो इस्टेटले व्यावसायिक रूपमा लगाएका २ हजारमध्ये डेढ सयभन्दा बढी कफीका बिरुवा पहिरोले पुरिएका छन्।

पहिरोसँगै माटो बग्दा कफीका बिरुवामा क्षति पुगेको हो।

विदेश पलायन र वैदेशिक रोजगारीको आकर्षण बढिरहेका बेला दीक्षित भण्डारी, नितिन चटौत र निश्चल चटौतले गाउँमै सम्भावना खोज्दै करिब १५ लाख रुपैयाँ लगानीमा कफी खेती सुरु गरेका थिए।

गुल्मीबाट ल्याइएका अरबिका जातका कफीका बिरुवा आधुनिक कृषि विधिअनुसार रोपिएका थिए।

तर, लगातारको वर्षापछि आएको पहिरोले लगाएको केही समयमै ठूलो क्षति पुर्याएको हो।
कफी खेतीका लागि आवश्यक छाहारी व्यवस्थापनसहित २० क्विन्टल गड्यौला मल प्रयोग गरिएको थियो।
करिब तीन वर्षपछि उत्पादन दिन सुरु गर्ने र २५ वर्षसम्म उत्पादन दिने अपेक्षा गरिएको कफी खेतीमा पहिरोले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन्।
कृषि ज्ञान केन्द्र डडेल्धुराले कफी खेतीका लागि बिरुवा खरिदलगायतमा सहयोग गरेको थियो।

