
डडेल्धुरा : जेन–जी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका बैतडीस्थित शिवनाथ गाउँपालिका– २ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन्।
शहीद दीपककी भाउजू सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन्।

प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेन–जी शहीदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो।
उक्त नामावलीमा शहीद साउदकी भाउजू सरस्वतीको नाम पनि उल्लेख गरिएको छ।

प्राधिकरणले सरस्वतीसहित २७ जना जेन–जी शहीदका परिवारका सदस्यलाई रोजगारी दिने उल्लेख गरेको छ।
शिवनाथ– २ शर्माली घर भएका दीपकको गएको २३ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो।
कृषि सहायकको अध्ययन गरेर उनी रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी गरिरहेका थिए।
जेन–जी आन्दोलनमा दीपकसिंह सहिद भएपछि सरकारले यसअघि नै उनीको परिवारलाई १५ लाख रुपैउाँ राहत उपलब्ध गराइसकेको छ।
यस्तै, शिवनाथ गाउँपालिकाले पनि शहीद परिवारलाई गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।
गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि शहीद परिवारलाई प्राथमिकतामा राखिएको जनाएको छ।



