
डडेल्धुरा: नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा पाँच पटकका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदानसमेत नगर्ने भएका छन्।
विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि उनी सक्रिय राजनीतिक गतिविधिबाट टाढा देखिएका हुन्।

सभापतिबाट हटाइएपछि देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएको विषयले समेत असन्तुष्ट थिए।
यस विषयमा उनले कानूनी उपचार खोज्दै सर्वोच्च अदालत पुगे पनि अदालतले अन्तरिम आदेश नदिएपछि उनको राजनीतिक सक्रियता थप सीमित भएको निकट स्रोतले जनाएको छ।
उनले अन्तिमपटक ‘रुख’ चुनाव चिह्नबाट निर्वाचन लड्ने प्रयास गरे पनि हालका सभापति गगन थापा नेतृत्वले टिकट नदिएपछि उनी प्रतिनिधि सभा निर्वाचनका सम्पूर्ण प्रक्रियाबाट बाहिरिएका छन्।
कांग्रेसका पदाधिकारीहरूले विभिन्न माध्यमबाट देउवालाई पार्टीका उम्मेदवारको समर्थनमा चुनावी अभियानमा सहभागी हुन आग्रह गरे पनि उनले त्यसमा रुचि देखाएका छैनन्।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले देउवालाई अभियानमा सहभागी गराउने प्रयास भइरहेको बताएका छन्।
तर देउवा सचिवालयले भने हालसम्म कसैसँग औपचारिक भेटघाट वा चुनावी अभियानमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेको छ।
देउवा निकट स्रोतका अनुसार ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नाराका साथ नेतृत्वमा आएका नेताहरूले नै योजनाबद्ध रूपमा देउवालाई किनारा लगाएको आरोप लगाइएको छ।
डडेल्धुराबाट २०४८ सालदेखि लगातार सात पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका देउवा यसपटक भने उम्मेदवार बन्न पाएनन्।
उनको स्थानमा निकट सहयोगी मानिने नेता नैनसिंह महरलाई टिकट दिइएको छ। महरले भने देउवाको तस्बिर प्रयोग गर्दै चुनाव प्रचार गरिरहेका छन्।
जिल्ला सभापति भीमबहादुर साउद लगायतका नेताहरूले देउवालाई एकपटक डडेल्धुरा ल्याएर चुनावी माहोलमा सहभागी गराउने प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन।
देउवा मतदानका लागि समेत डडेल्धुरा नआउने जानकारी निकट नेताहरूलाई दिइएको स्रोतले जनाएको छ।



