डडेल्धुराको विकास रोडम्यापमा बालेन–जोशीबीच छलफल

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ बुधबार डडेल्धुरा पुगे।

वर्षासँगै परेको चिसो मौसमका बाबजुद छाता ओडेर समर्थकहरू उनलाई भेट्न पुगेका थिए।

GBL NEW

डडेल्धुरा आगमनका क्रममा बालेन साहुखर्कस्थित चर्चित बाजेको खीर पसलमा पुगेर खीरको स्वाद लिए।

त्यसपछि भीमदत्त राजमार्गमा परेको हिउँसँग फोटो खिच्दै सामाजिक सञ्जालमा “सुदूर अब दूर नाइ, झिक्कै झिक्कै माया तमलाई” लेख्दै सुदूरपश्चिमप्रतिको आत्मीयता व्यक्त गरे।

त्यसपछि बालेन अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित रास्वपाको पार्टी कार्यालय पुगे।

जहाँ उनलाई रास्वपाका नेता तथा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. ताराप्रसाद जोशीले स्वागत गरे।

भेटका क्रममा बालेनले जोशीसँग जिल्लाका स्थानीय तथा राष्ट्रिय मुद्दाका बारेमा जानकारी लिए।

जोशीले डडेल्धुरा मेडिकल कलेजको स्तरोन्नति, पुइलेक एयरपोर्ट निर्माण, पूर्वाधार विकासतर्फका बहुवर्षीय ठेक्काका काम समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए।

साथै अन्तरजिल्ला सडक, अधुरा सडक योजनाको शीघ्र सम्पन्नतामा जोड दिए।

स्थानीय मुद्दातर्फ डडेल्धुराको मुख्य समस्या बेरोजगारी र कृषि रहेको उल्लेख गर्दै बेरोजगारी अन्त्यका लागि कृषिमा लगानी अपरिहार्य रहेको बताए।

महाभारत क्षेत्रलाई पैदलमार्गको रूपमा विकास गरी भागेश्वर दर्शनलाई व्यवस्थित गर्नुपर्ने, जिल्लाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमार्फत रोजगारी र पर्यटक संख्या बढाउन सकिने सम्भावनाबारे पनि जानकारी गराए।

त्यस्तै, जिल्ला सदरमुकाम व्यवस्थित गर्नुपर्ने र आधुनिक रंगशाला निर्माणको प्रस्ताव पनि जोशीले बालेनसमक्ष राखेका थिए।

छलफलको अन्त्यमा बालेनले डा. जोशीलाई चुनाव जितेर आउन शुभकामना दिँदै बाँकी जिम्मेवारी पार्टीको रहने बताए।

अन्तमा उनले घण्टी बजाउँदै समर्थकलाई उत्साहित गर्दै बैतडी तिर लागे।

डडेल्धुरामा बालेनको उपस्थितिले रास्वपा कार्यकर्ता तथा समर्थकमा नयाँ उत्साह थपिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.