शोकमा परेका परिवारलाई राहत : किसान सहकारीले गर्‍यो कर्जा मिनाहा

dream cafe
learnar

डडेल्धुरा : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अमरगढी शाखाले सदस्य सुरक्षण कोष अन्तर्गत शोकमा परेका दुईजना सदस्यको कर्जा मिनाह गरिदिएको छ।

भागेश्वर गाउँपालिका–४, गोलाइका च्यान्टिदेवी मल्लका श्रीमान वीरबहादुर मल्लको निधन भएपछि सहकारीले उनको नाममा रहेको ६ लाख १० हजार ६ सय ५० रुपैयाँ कर्जा मिनाहा गरेको हो।

GBL NEW

आइतबार आयोजित कार्यक्रममा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतको उपस्थितिमा कर्जा मिनाहा गरिएको हो।

यस्तै, अमरगढी नगरपालिका–१ भेटाका निर्मला कुमारी साउँद ऐरका श्रीमान हेमबहादुर ऐरको निधनपछि सहकारीले ३ लाख ३३ हजार ६ सय ६३ रुपैयाँ कर्जा मिनाहा गरेको छ।

उक्त कार्यक्रममा वडाध्यक्ष लोकबहादुर ऐरको उपस्थिति रहेको थियो।

सहकारीका अमरगढी शाखा प्रमुख बासुभ रावतले संस्थाबाट ऋण लिएका सदस्यको श्रीमान वा श्रीमतीको मृत्यु भएमा सदस्य सुरक्षण कोषबाट ऋण मिनाहा हुने व्यवस्था रहेको जानकारी दिए।

‘सहकारी आर्थिक कारोबारमा सीमित नभई सदस्यको जीवनका हरेक संवेदनशील क्षणमा साथ दिन प्रतिबद्ध रहेको छ,’ उनले भने ।

२०५२ साल कात्तिक १७ गते कैलालीको लम्कीचुहा नगरपालिकाबाट २५ जना सदस्य र ६० हजार ३ सय रुपैयाँ सेयर पूँजीबाट सुरु भएको किसान बहुउद्देश्यीय सहकारी आज ९४ हजार सेयरधनी सदस्यसम्म विस्तार भएको छ।

हाल संस्थाको सेयर पूँजी ५२ करोड रुपैयाँ पुगेको छ। सुदूरपश्चिम प्रदेशभर ४१ वटा शाखा सञ्चालनमा रहेको यस सहकारीको हालको कारोबार ७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

संस्थाले बचत तथा ऋण कारोबार, सामाजिक कार्य, वित्तीय तथा एग्रो क्षेत्रमा लगानी गर्दै आएको छ। साथै मोबाइल बैंकिङ सेवासमेत सञ्चालनमा रहेको छ।

सहकारीले सेयरधनी सदस्यलाई जन्मदेखि मृत्युपरान्तसम्म विभिन्न सुविधा प्रदान गर्दै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.