भीमदत्त पन्तको स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको जनयात्रा

dream cafe
learnar

कञ्चनपुर : जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो।

तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उनले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ।

बोहरा मेडिको सेन्टर

यस्ता महान् व्यक्तित्वमध्ये एक हुन्, क्रान्तिकारी किसान नेता ‘भीमदत्त पन्त’।

साउन १७ गते देशभर विविध कार्यक्रममार्फत सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइँदै छ।

यो दिवस केवल सम्झनाको औपचारिकता नभई, विचार र आन्दोलनको पुनः स्मरण तथा कार्यान्वयनको आह्वान हो।

वि.सं. १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए।

भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरेका उनले गीता र माक्र्सवाद दुबैको सार आत्मसात् गरे।

सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहार भन्छन्, ‘शिक्षाले उहाँ विद्वान् मात्रै हैन, सामाजिक न्यायका लागि समर्पित योध्दा बने, गीता र माक्र्सलाई आत्मसात् गरेर उहाँले वर्गीय विभाजनमाथि प्रश्न उठाउनुभयो।’

वि.सं. २००७ देखि भीमदत्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झण्डा उठाए।

उनले नेतृत्व गरेको आन्दोलनले उनलाई ‘भीमदत्त कांग्रेस’ को संज्ञा दियो।

वि.सं. २००९ वैशाख २ गते घटालथानमा उनले जय दासको हातबाट सबै जातिलाई एउटै थालीमा पानी खुवाएर ऐतिहासिक सन्देश दिएका थिए, ‘अब कुनै जाति ठूलो सानो छैन।’

GBL NEW

पूर्व सांसद निरा जैरू भन्छिन्, ‘भाषणमा होइन, व्यवहारमै जातीय विभेद तोड्नुभयो। एउटै थालीमा सबै जातजाति बसेर खाने परम्परा उहाँले सुरू गर्नुभयो।’

दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई संगठित गर्दै उनले मुक्ति सेना गठन गरे, बेदखली रोक्न तमसुख जलाए।

‘सामन्तीलाई विस्थापित गर्ने उहाँको महानता हो,’ जैरू भन्छिन्, ‘जोताहा किसानको पक्षमा उहाँले गरेको विद्रोह सम्झनलायक छ।’

हलिया नेता राजुराम भूल भन्छन्, ‘हामी हलिया मात्र होइन, नागरिक हौँ भन्ने आत्मविश्वास उहाँबाट पायौँ। उहाँ हाम्रो आत्मसम्मानका संवाहक हुनुहुन्थ्यो। आन्दोलन पूरा नहुँदै उहाँले सहादत दिनुपर्‍यो।’

भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो। अन्ततः वि.सं. २०१० साउन १७ गते बुडरको गइलेकमा उनलाई गोली प्रहार गरियो।

टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो। परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन। अन्त्येष्टि हरिद्वारमा गरियो।

भूमि अधिकारकर्मी रामबहादुर चुनारा भन्छन्, ‘भीमदत्तको मृत्यु एउटा युगको अन्त्य थियो, तर विचारको सुरू पनि।’

उनका अनुसार, नेता पन्तले भनेझैँ, ‘कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो’, भन्ने नारा आज पनि उत्तिकै सान्दर्भिक छ।

चुनारा थप भन्छन्, ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो। उठ जागरे, नेपाली नवजवान जागरे।’

वि.सं. २०७२ फागुनमा सरकारले क्रान्तिकारी नेता भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो।

चुनाराका अनुसार, भीमदत्तको सपना त्यतिबेला पूरा हुन्छ, जब भूमिहीन, सुकुम्बासी र बाढीपीडितलाई जग्गा दिइन्छ, कृषि आत्मनिर्भरता सुनिश्चित गरिन्छ र न्याय, समानता व्यवहारमा लागू हुन्छ।

भीमदत्त आज भौतिक रूपमा छैनन्। तर, उनका विचार र बलिदान आज पनि भूमिहीनको आवाज बन्ने प्रेरणा बनेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.