विद्यालयमा ‘मास हिस्टेरिया’ किन फैलिन्छ?

dream cafe
learnar
  •  यज्ञ खड्का

नेपालका विभिन्न विद्यालयहरूमा, विशेषगरी किशोरी छात्राहरूमा एकै समयमा बेहोस हुने, कराउने, चिच्याउने, शरीर काम्ने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, चक्कर लाग्ने, हातखुट्टा नचल्ने जस्तो हुने वा असामान्य व्यवहार देखिने घटनाहरू बेला–बेलामा देखिने गरेका छन्।

GBL NEW

यस्ता घटनाले विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायमा चिन्ता र त्रास सिर्जना गर्ने गरेको छ। यस अवस्थालाई धेरैले “Mass Hysteria” भनेर चिन्ने गरे पनि आधुनिक चिकित्सा विज्ञानले यसलाई Mass Psychogenic Illness (MPI) वा Mass Sociogenic Illness (MSI) भनेर व्याख्या गर्छ।

विद्यालयमा देखिने “Mass Hysteria” वास्तवमा के हो?
Mass Psychogenic Illness मानसिक स्वास्थ्यसँग सम्बन्धित समूहगत मनोवैज्ञानिक प्रतिक्रिया हो।

यसलाई “नक्कली रोग” वा “नाटक” भनेर बुझ्नु गलत हुन्छ।

प्रभावित विद्यार्थीहरूले अनुभव गर्ने लक्षणहरू वास्तविक हुन्छन्। उनीहरूलाई साँच्चिकै सास फेर्न गाह्रो हुन सक्छ, शरीर काम्न सक्छ, बेहोस हुन सक्छन्, मुटुको धड्कन बढ्न सक्छ र अत्यधिक डर महसुस हुन सक्छ।

तर अधिकांश अवस्थामा विस्तृत स्वास्थ्य परीक्षण गर्दा कुनै गम्भीर शारीरिक रोग, विषाक्त पदार्थ वा संक्रामक रोगको प्रमाण भेटिँदैन। यो अवस्था मानसिक तनाव, चिन्ता, डर, भावनात्मक दबाब तथा समूहगत मनोवैज्ञानिक प्रभावका कारण उत्पन्न हुन्छ।

एउटै वातावरणमा रहेका व्यक्तिहरूले समान प्रकारको तनाव अनुभव गर्दा समूहका अन्य सदस्यहरूमा पनि उस्तै लक्षण देखा पर्न सक्छन्।

नेपालमा किन पटक–पटक देखिन्छ?
नेपालमा विद्यालयमा हुने यस्ता घटनाका पछाडि किशोरावस्थामा हुने हार्मोनल परिवर्तन, परीक्षा तथा पढाइको दबाब, पारिवारिक समस्या, सामाजिक तनाव, मानसिक स्वास्थ्यसम्बन्धी सीमित जानकारी, साथीहरूको प्रभाव, सामाजिक सञ्जालमा फैलिने अफवाह, अन्धविश्वास तथा विद्यालयको वातावरणजस्ता विभिन्न कारणहरू एकसाथ जिम्मेवार हुन सक्छन्।

कतिपय अवस्थामा एउटा विद्यार्थीमा लक्षण देखिएपछि अन्य विद्यार्थी पनि डराउने, तनावमा आउने वा आफूमा पनि त्यस्तै समस्या भएको महसुस गर्ने भएकाले छोटो समयमा धेरै विद्यार्थी प्रभावित हुन सक्छन्।

किन किशोरीहरू बढी प्रभावित हुन्छन्?
अनुसन्धानहरूले किशोरावस्था शारीरिक, मानसिक र भावनात्मक रूपमा संवेदनशील अवस्था भएको देखाएका छन्।

हार्मोनल परिवर्तन, भावनात्मक उतारचढाव, सामाजिक दबाब तथा आत्मविश्वासमा आउने परिवर्तनका कारण किशोरीहरू तनावप्रति बढी संवेदनशील हुन सक्छन्।

त्यसैले विद्यालयमा हुने MPI का अधिकांश घटनामा किशोरी छात्राहरू बढी प्रभावित देखिन्छन्। यद्यपि यो अवस्था केटा विद्यार्थी र वयस्कमा पनि देखिन सक्छ।

देखिन सक्ने प्रमुख लक्षणहरू
अचानक बेहोस हुनु, शरीर काम्नु वा झट्का आउनु, सास फेर्न गाह्रो हुनु, छाती दुख्नु, मुटु छिटो धड्किनु, टाउको दुख्नु, चक्कर लाग्नु, हातखुट्टा नचल्ने जस्तो महसुस हुनु, बोल्न नसक्नु, धेरै कराउनु वा चिच्याउनु, अत्यधिक डराउनु, असामान्य व्यवहार देखिनु, आँखा बन्द गरेर प्रतिक्रिया कम दिनु तथा शरीर अत्यधिक कमजोर भएको महसुस हुनु प्रमुख लक्षणहरू हुन्।

सबैभन्दा महत्वपूर्ण कुरा: पहिले अन्य रोगको सम्भावना हटाउनुपर्छ
MPI को निष्कर्षमा पुग्नुअघि स्वास्थ्यकर्मीले अन्य सम्भावित चिकित्सकीय कारणहरू अनिवार्य रूपमा मूल्याङ्कन गर्नुपर्छ।

खाद्य विषाक्तता, ग्यास चुहावट, विषादीको असर, Heat Stroke, Hypoglycemia, मिर्गी, मेनिन्जाइटिस, Encephalitis, हृदयसम्बन्धी समस्या, दम वा अन्य आपत्कालीन स्वास्थ्य अवस्थाको सम्भावना हटाइसकेपछि मात्र MPI को निष्कर्षमा पुग्न सकिन्छ।

घटना भएको बेला के गर्ने?
यस्तो घटना हुँदा सबैभन्दा पहिले शान्त रहनुपर्छ। प्रभावित विद्यार्थीलाई सुरक्षित, हावायुक्त र शान्त स्थानमा लैजानुपर्छ।

भीडभाड हटाउनुपर्छ र प्रभावित विद्यार्थीहरूलाई सकेसम्म अलग–अलग राख्नुपर्छ ताकि समूहगत प्रभाव कम होस्। कुनै पनि विद्यार्थीको भिडियो वा फोटो सामाजिक सञ्जालमा हाल्नु हुँदैन।

यसले डर, अफवाह र घटनाको विस्तार बढाउन सक्छ।

स्वास्थ्यकर्मीले तुरुन्तै Vital Signs परीक्षण गरी आवश्यक उपचार गर्नुपर्छ, आवश्यक परे स्वास्थ्य संस्थामा रिफर गर्नुपर्छ तथा Psychological First Aid (PFA) उपलब्ध गराउनुपर्छ।

स्थानीय सरकार, स्वास्थ्य शाखा र विद्यालयको भूमिका
स्थानीय सरकारले विद्यालय स्वास्थ्य कार्यक्रममा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिई Mental Health Emergency Response Team (MHERT) गठन गर्नुपर्छ।

स्वास्थ्य शाखा, शिक्षा शाखा, विद्यालय, वडा कार्यालय तथा मनोसामाजिक परामर्शदाताबीच प्रभावकारी समन्वय हुनुपर्छ।

स्वास्थ्य शाखाले सूचना प्राप्त हुनासाथ Rapid Response Team परिचालन गरी वैज्ञानिक अनुसन्धान, Case Line Listing, Risk Assessment, Psychological First Aid, Follow-up तथा आवश्यक प्रतिवेदन तयार गर्नुपर्छ।

विद्यालयले मानसिक स्वास्थ्य शिक्षा, शिक्षक अभिमुखीकरण, Life Skills Education, विद्यार्थीमैत्री परीक्षा प्रणाली, Bullying नियन्त्रण, परामर्श सेवा तथा गोपनीयताको सुनिश्चितता गर्नुपर्छ।

अभिभावक, सञ्चारमाध्यम र समुदायको भूमिका
अभिभावकले प्रभावित विद्यार्थीलाई दोष दिनु वा “भूत लागेको”, “देवी रिसाएकी” अथवा “नाटक गरेको” भन्नु हुँदैन। बच्चाको भावना बुझ्दै भावनात्मक साथ दिनु र स्वास्थ्यकर्मीको सल्लाह पालना गर्नु आवश्यक हुन्छ।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्नुपर्छ। अपुष्ट सूचना, सनसनीपूर्ण समाचार तथा अन्धविश्वास फैलाउने सामग्रीले समुदायमा अनावश्यक त्रास बढाउँछ।

समुदायले मानसिक स्वास्थ्यलाई स्वीकार गर्दै विद्यालय, स्वास्थ्य संस्था, स्थानीय सरकार, अभिभावक, महिला समूह, युवा क्लब तथा अन्य सरोकारवालासँग मिलेर मानसिक स्वास्थ्यमैत्री वातावरण निर्माण गर्नुपर्छ।

समयमै व्यवस्थापन नभए के हुन सक्छ?
वैज्ञानिक ढंगले व्यवस्थापन नभए यस्ता घटना पटक–पटक दोहोरिन सक्छन्, धेरै विद्यार्थी प्रभावित हुन सक्छन्, पठनपाठनमा अवरोध आउन सक्छ, विद्यार्थीमा दीर्घकालीन डर र चिन्ता रहन सक्छ, अभिभावकमा त्रास बढ्न सक्छ, अन्धविश्वास फैलिन सक्छ र सामाजिक सञ्जालमार्फत गलत सूचना तीव्र रूपमा फैलिन सक्छ।

पुनर्वास नगरपालिकाको सन्दर्भ
पुनर्वास नगरपालिका अन्तर्गतको एक विद्यालयमा पनि यस्तै प्रकृतिको घटना देखिएको छ।

स्वास्थ्य शाखाले यस घटनालाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य संस्था, विद्यालय, शिक्षा शाखा, वडा कार्यालय, मनोसामाजिक परामर्शदाता तथा अन्य सरोकारवालासँग समन्वय गरी वैज्ञानिक ढंगले व्यवस्थापन गरिरहेको छ।

यस अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा समुदायलाई अफवाहमा विश्वास नगर्न, अन्धविश्वासलाई प्रोत्साहन नगर्न तथा स्वास्थ्यकर्मीले दिने वैज्ञानिक सल्लाह र निर्देशनको पालना गर्न हार्दिक अनुरोध गर्दछौं।

निष्कर्ष :
विद्यालयमा देखिने Mass Psychogenic Illness (MPI) मानसिक स्वास्थ्यसँग सम्बन्धित समूहगत मनोवैज्ञानिक प्रतिक्रिया हो।

यसको दीर्घकालीन समाधान उपचारभन्दा पनि सही पहिचान, समयमै स्वास्थ्य परीक्षण, मनोसामाजिक परामर्श (Counselling), Psychological First Aid, मानसिक स्वास्थ्य प्रवर्द्धन, सही सूचना प्रवाह तथा सबै सरोकारवालाबीचको प्रभावकारी समन्वयमा निर्भर हुन्छ।

मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ।

अफवाह होइन, वैज्ञानिक सोच; दोषारोपण होइन, सहानुभूति; अन्धविश्वास होइन, प्रमाणमा आधारित व्यवस्थापन नै विद्यालयमा देखिने यस्ता घटनाको दिगो समाधान हो।

लेखक खड्का पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.