

डडेल्धुरा : नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउन असहयोग गरेको भन्दै डोटी र कञ्चनपुरका जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुरका सभापति पदम बोगटी र डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी खोसिएको हो।

उनीहरूको स्थानमा कञ्चनपुरमा हरिचन्द्र राना र डोटीमा नारायणबहादुर बलायरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ।
दुलालका अनुसार जिम्मेवारी खोसिए पनि दुवै जिल्लाका सभापतिको पद भने कायमै रहनेछ।

‘उहाँहरू सभापति नै रहनुहुन्छ, काम गर्न नसकेकाले बाटो फुकाएका हौँ,’ उनले भने।
कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउने क्रममा जिम्मेवारी निर्वाह गर्न नसकेका जिल्ला सभापतिहरूको ठाउँमा कार्यवाहक तोकेको जनाएको छ।
यता, जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति पदम बोगटीले भने तत्काल महाधिवेशन प्रक्रिया स्थगित गर्न आग्रह गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको वैधानिकता, नेतृत्व र विशेष महाधिवेशनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला नआउँदासम्म महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका हुन्।
बोगटीले अदालतमा विषय विचाराधीन रहेको अवस्थामा एकपक्षीय रूपमा सांगठनिक गतिविधि अघि बढाउनु उचित नहुने जिकिर गरेका छन्।

