

डडेल्धुरा : नेपाली कांग्रेस विपीबाट कांग्रेसमा समाहित भएका नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गरेका छन्।
उनले पार्टीको विधि र प्रक्रिया मिचेर एकलौटी रूपमा गरिएको अधिवेशनले पार्टीलाई विखण्डनतर्फ लैजाने चेतावनी दिएका छन्।

पूर्वसभापति मल्लले जारी गरेको विज्ञप्तिमा डडेल्धुराको अधिवेशन धाँधलीपूर्ण र अवैध रहेको आरोप लगाइएको छ। ‘पाँच वर्षअघि जिल्ला अधिवेशनका क्रममा भएको धाँधली र अवैधानिक क्रियाकलापविरुद्ध सङ्गठित विद्रोह भएको थियो।
अहिले पनि त्यही शैली दोहोर्याउँदै पार्टी सत्ताको दुरुपयोग गरी जिल्ला कब्जा गर्ने अभिप्रायले कोठे अधिवेशन सुरु गरिएको छ,’ उनले भनेका छन्।
मल्लले पार्टी विभाजन रोक्नका लागि यथास्थितिमा भइरहेको जिल्ला अधिवेशनको प्रक्रिया अविलम्ब स्थगित गर्न माग गरेका छन्।

उनले डडेल्धुरा जिल्लाको विशिष्टतालाई मध्यनजर गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको सहभागितामा मात्र १५औँ राष्ट्रिय महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
उनले भने, ‘हतारमा गरिएको यस्तो कर्मकाण्डी प्रक्रियाले आम मतदातामा निराशा मात्र उत्पन्न गराउँछ।’
पूर्वसभापति मल्लले पार्टीको विधि र प्रक्रिया नपुर्याई, आम सहभागिता बिना गरिने अधिवेशनमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्।
उनले भने, ‘यस्तो निरङ्कुश शैलीको अधिवेशनबाट पार्टी विखण्डनतर्फ जाने निश्चित छ। यदि यो प्रक्रिया रोकिएन भने त्यसबाट आउने दुषपरिणामको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेसको सिङ्गो नेतृत्वले लिनुपर्छ।’
उनले डडेल्धुराका सम्पूर्ण कार्यकर्तालाई पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्।


