बोहरा मेडिको सेन्टर

अस्ट्रेलिया जाने तयारीमा थिए डडेल्धुराका मुकेश, जेनजी आन्दोलनमा खुट्टा गुमाए

dream cafe
learnar

डडेल्धुरा : जेनजी पुस्ताको आन्दोलनमा घाइते भएका डडेल्धुराका मुकेश अवस्थी अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत छन्। गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय अवस्थीको मंगलबार अप्रेसन गरी बायाँ खुट्टा काटिएको हो।

भदौ २४ गते दिउँसो करिब १२ः४५ मा दिदी आकृतिसँग फोनमा कुरा गरेका मुकेशले आफू कार्यालयमै रहेको बताएका थिए। तर, केही बेरमै उनी आन्दोलनमा सहभागी भए। सोही दिन अपराह्न ४ः४९ बजे ट्रमा सेन्टरबाट आएको फोनले परिवार स्तब्ध बनायो, ‘तपाईंको बिरामीको अवस्था गम्भीर छ, अप्रेसन थिएटरमा लगिएको छ।’

CNA

अस्पताल लगिएको केही समयमै मुकेशको बायाँ खुट्टामा गोली लागेको पुष्टि भयो। गोलीले मुख्य नसा, स्नायु प्रणाली र हड्डी क्षतविक्षत बनाएको डाक्टरहरूले परिवारलाई जानकारी दिएका थिए। राति करिब ११ बजेतिर अप्रेसनपछि उनको ज्यान त जोगाइयो, तर खुट्टा भने बचाउन सकिएन।

‘भाइको ज्यान त डाक्टरहरूले बचाइदिनुभयो, तर खुट्टा सकिन गयो,’ दिदी आकृतिले भनिन्। उनका अनुसार गोलीको असरले मुकेशको मुटु, कलेजो र फोक्सोमा समेत असर परेको छ।

Bohora ma 1

डडेल्धुराको अमरगढी नगरपालिका–५, सेलागाउँका मुकेश करिब डेढ वर्षअघि डोटीको कुमालीकोटबाट सब–इन्जिनियरिङ पढेर काठमाडौं आएका थिए। जागिर गर्दै अस्ट्रेलिया जाने तयारीमा रहेका उनले विदेश जाने सपना देखेका थिए । ‘अब सबै सपना चकनाचुर भयो,’ दिदी आकृतिको पीडा थियो।

मुकेश परिवारका जेठो छोरा हुन्। परिवारले उनलाई सफल बनाउन देखेको सपना एक गोलीले चकनाचुर बनाएको दिदीले बताइन्।

उनले कलिला युवालाई आन्दोलनमा भाँडो नबनाउन चेतावनी दिँदै भनिन्, ‘जनयुद्धमा जस्तै अहिले पनि युवालाई प्रयोग गरिएको छ। अगाडि बच्चा राखेर पछाडिबाट यस्तो गर्नु षड्यन्त्र हो।’

हाल मुकेशको उपचार निःशुल्क भइरहेको छ । तर परिवारलाई उनको भविष्यप्रति चिन्ता छ। ‘२२ वर्षको भाइले बाँकी जीवन बिताउन राम्रो कृत्रिम खुट्टा आवश्यक पर्छ, जुन नेपालमा पाइँदैन,’ आकृतिले भनिन्, ‘सरकारले विदेशबाट ल्याउने वा विदेशमै लैजाने पहल गर्नुपर्छ।’

उनले पीडित परिवारलाई पैसामात्रै दिएर समस्या समाधान नहुने बताइन्। ‘भाइको गुमेको भविष्य फिर्ता हुँदैन। उसको बाँकी जीवन सहज बनाउन सरकारले सहयोग गर्नुपर्छ,’ आकृतिले भनिन्।

हाल मुकेश होसमा छन्, बोल्न सक्छन् तर शरीर कमजोर छ। रक्तचाप र हेमोग्लोबिन कम भएकाले स्वास्थ्यप्रति परिवार चिन्तित छ । ‘अब हाम्रो मुख्य लडाइँ भाइको भविष्य सुरक्षित गर्ने हो,’ आकृतिले भनिन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.