

ललितपुर : दीपक भट्टका पिता चतुर्भुज भट्टले छोराको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हकको संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन्।
भट्टले बिहीबार (२०८३ असोज २३ गते) आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न र छोरालाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सारिएको निर्णयको आधार तथा कारण अध्ययन गर्न माग गरेका हुन्।

चतुर्भुजले जारी गरेको प्रेस नोटमा विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छोरालाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र सामाजिक प्रतिष्ठामा आघात पुर्याउने सामग्री प्रकाशित भइरहेको आरोप लगाएका छन्।
विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति उनले गम्भीर आपत्ति जनाएका छन्।
त्यस्ता सामग्रीले निष्पक्ष न्याय पाउने अधिकारमा समेत असर पार्न सक्ने उनको भनाइ छ।
त्यस्तै, दीपकलाई गत असोज १७ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको विषयमा पनि चतुर्भुजले प्रश्न उठाएका छन्।

छोराविरुद्धका मुद्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेको अवस्थामा सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे आफूलाई जानकारी नदिइएको उनले बताएका छन्।
सरुवाको औचित्य र आवश्यकताबारे प्रश्न उठाउँदै उनले नख्खु कारागार तथा कारागार व्यवस्थापन विभागमा समेत निवेदन दिएको र हालसम्म जानकारी प्राप्त नभएको प्रेस नोटमा उल्लेख गरेका छन्।
यसैगरी, कारागारबाट फोन गरेको लगायतका विषयमा प्रकाशित समाचारबारे प्रेस काउन्सिल नेपालमा पनि निवेदन दिएको उनले जनाएका छन्।
नेपालको संविधान, प्रेस काउन्सिल ऐन तथा पत्रकार आचारसंहिताबमोजिम आवश्यक कारबाही हुने विश्वाससमेत व्यक्त गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन, कारागार सरुवासम्बन्धी निर्णय तथा कागजातको अध्ययन र आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न माग गरिएको छ।
साथै, कारागार सरुवाको औचित्यसमेत विचार गरी दीपकलाई नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरिएको छ।
‘म कुनै पनि निकायको निष्पक्ष अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध चाहन्नँ,’ चतुर्भुजले प्रेस नोटमा भनेका छन्, ‘मैले केवल सत्यतथ्यको निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको सम्मान, भ्रामक समाचारबाट हुने चरित्रहत्या रोकथाम तथा मेरो छोराको मानव अधिकार र मौलिक हकको संरक्षणका लागि निवेदन दिएको हुँ।’


