जेलको चौघेरादेखि मुख्यमन्त्रीको कुर्सीसम्म

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडी।

यही ठाउँबाट सुरु भएको एउटा किशोरको राजनीतिक यात्रा अहिले सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने मुकाममा पुगेको छ।

बोहरा मेडिको सेन्टर

नाम हो, खगराज भट्ट ।

कुनै समय राज्यविरुद्धको मुद्दामा जेल परेका भट्टका लागि राजनीति पद प्राप्तिको बाटो मात्रै थिएन। किशोरावस्थामै सुरु भएको उनको राजनीतिक यात्राले जेल, भूमिगत जीवन, संगठनभित्रको संघर्ष र चुनावी पराजयका थुप्रै मोड पार गरेको छ।

आज उनी सुदूरपश्चिमका पाँचौँ मुख्यमन्त्री बनेका छन्। तर, यो कुर्सीसम्म आइपुग्न उनले चार दशकभन्दा लामो राजनीतिक यात्रा तय गरेका छन्।

२०३१ साल पुस २ गते चौडीमा जन्मिएका भट्ट १६ वर्ष पुग्नुअघि नै राजनीतिमा जोडिए। २०४७ सालमा तत्कालीन नेकपा एकता केन्द्रको सदस्यता लिएपछि उनको औपचारिक राजनीतिक यात्रा सुरु भयो।

तीन वर्षपछि उनी पूर्णकालीन राजनीतिमा होमिए। जिल्ला सदस्यको जिम्मेवारीसँगै विद्यार्थी राजनीतिमा पनि सक्रिय भए। अखिल क्रान्तिकारीको डडेल्धुरा र कञ्चनपुरमा नेतृत्व सम्हाल्दै उनी संगठनको केन्द्रीय सदस्यसम्म पुगे।

राजनीतिमा सक्रिय हुँदै गर्दा २०५२ सालमा उनी पक्राउ परे। राज्यविरुद्धको मुद्दामा पक्राउ परेका भट्टले करिब साढे नौ महिना हिरासत र जेलमा बिताए।

जेलबाट बाहिरिएपछि भने उनको राजनीतिक यात्रा रोकिएन। बरु अझ सक्रिय भयो।

माओवादी सशस्त्र विद्रोह सुरु भएपछि उनी भूमिगत राजनीतिमा प्रवेश गरे। झण्डै ११ वर्ष भूमिगत रहँदा उनले पार्टीको जिल्ला नेतृत्वदेखि केन्द्रीय तहसम्मका जिम्मेवारी सम्हाले।

डडेल्धुरा जिल्ला सेक्रेटरी हुँदै दार्चुला–बैतडी इन्चार्ज, केन्द्रीय सदस्य र सेती–महाकाली राज्यसमिति सचिवसम्म पुगेका भट्टको राजनीतिक प्रभाव पनि क्रमशः विस्तार हुँदै गयो।

देउवासँग तीनपटक हार
भूमिगत राजनीतिबाट खुला राजनीतिमा आएपछि पनि उनको यात्रा सहज भएन।

डडेल्धुराको चुनावी राजनीतिमा उनको नाम पटक–पटक शेरबहादुर देउवासँग जोडियो। २०६४, २०७० र २०७४ सालमा भट्टले देउवासँग चुनाव लडे।

तर, तीनैपटक परिणाम उनको पक्षमा आएन। २०७४ मा वाम गठबन्धनको बलसमेत उनलाई जिताउन पर्याप्त भएन। लगातार तीन चुनावी हारपछि पनि भट्टले राजनीति छाडेनन्। बरु अर्को अवसरको प्रतीक्षामा रहे।

प्रदेशसभा
२०७९ सालको निर्वाचनले उनको राजनीतिक यात्रामा नयाँ ढोका खोल्यो।

GBL NEW

डडेल्धुरा प्रदेशसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका भट्टले १२ हजार ११२ मत प्राप्त गर्दै एमालेका पठानसिंह बोहरालाई पराजित गरे।

त्यो बेला पनि भट्ट शेरबहादुरसँगै चुनाव लड्ने पक्षमा थिए। तर, केन्द्रमा तत्कालिन सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच चुनावी गठबन्धन भएपछि मुख्यमन्त्रीको आशमा भट्ट प्रदेशको चुनाव लडे।

जोगबुढाको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘खगराजलाई जिताएर पठाउनुस् मुख्यमन्त्री बनाउँछौं।’

फलस्वरुप भट्टको वर्षौँदेखि संसदीय राजनीतिमा खोजिरहेको सफलताको पहिलो ठूलो ढोका खुल्यो। प्रदेशसभामा प्रवेश गरेपछि उनको राजनीतिक हैसियत पनि बढ्दै गयो।

२०८० सालमा उनी संसदीय दलको नेता बने। त्यसपछि सुदूरपश्चिमको मुख्यमन्त्रीका सम्भावित दाबेदारका रूपमा उनको चर्चा हुन थाल्यो।

मुख्यमन्त्रीको दौडमा फेरि–फेरि धक्का
मुख्यमन्त्री बन्ने सम्भावना बढ्दै गए पनि परिस्थिति उनको पक्षमा तत्काल बनेन।

कांग्रेस–माओवादी गठबन्धन टुटेर एमाले–माओवादी समीकरण बनेपछि सुदूरपश्चिमको मुख्यमन्त्री पद एमालेको भागमा पुग्यो। राजेन्द्रसिंह रावल मुख्यमन्त्री बने। भट्ट भने बिनाविभागीय मन्त्रीमा सीमित भए।

तर, रावल सरकार लामो समय टिकेन। केन्द्रमा सत्ता समीकरण फेरिएपछि सरकार अल्पमतमा प¥यो र २६ माघ २०७९ मा रावलले राजीनामा दिए।

भट्टको मन्त्री पद पनि कुनै मन्त्रालयको जिम्मेवारी सम्हाल्न नपाउँदै समाप्त भयो। त्यसपछि आफ्नै दलभित्र पनि उनलाई चुनौती आयो।

संसदीय दलको नेताबाट हटाइएर मानबहादुर धामीलाई जिम्मेवारी दिइयो। तर, केन्द्रको पटक–पटकको हस्तक्षेपपछि भट्ट पुनः दल नेतामा फर्किए।

प्रतीक्षा सकिएको दिन…
राजनीतिक समीकरण फेरिइरहे। सरकारहरू बने र ढले। मुख्यमन्त्रीको कुर्सी भने भट्टका लागि अझै टाढा रह्यो।

तर समय सधैँ एउटै हुँदैन।

एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसँगको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्यो। भट्ट त्यस दलका संसदीय दलका नेता बने।

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने भएपछि लामो समयदेखि प्रतीक्षामा रहेका भट्टका लागि मुख्यमन्त्रीको ढोका खुल्यो।

शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए। उनलाई नेकपा एमालेले समर्थन गरेको छ।

अब उनको अगाडि अर्को परीक्षा छ। वर्षौँको संघर्षबाट प्राप्त राजनीतिक अवसरलाई सुदूरपश्चिमका नागरिकको जीवनमा देखिने परिणाममा बदल्ने।

मुख्यमन्त्री बनेपछि उनले प्रदेशका २७ लाख नागरिकको भावना बुझेर काम गर्ने बताए।
मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चमत्कार नै गर्छु त भन्दिनँ, तर जे गर्नेछु, राम्रै गर्नेछु।’

Ddl dental
Leave A Reply

Your email address will not be published.