
काठमाडौं : विश्व प्रेस काउन्सिल महासङ्घले नेपालका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।
महासङ्घले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठको पक्राउले नेपालमा स्वतन्त्र रिपोर्टिङ र सम्पादकीय स्वतन्त्रताको अवस्थाप्रति नकारात्मक सङ्केत गरेको जनाएको छ ।

महासङ्घका अध्यक्ष डेभिड ओमवोयोले प्रकाशित सामग्रीको आधारमा पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि घातक हुने बताएका छन् ।

‘पत्रकारितामा गोपनीयताको सम्मान र शुद्धता जस्ता जिम्मेवारीहरू हुन्छन्, तर यसमा देखिने विवादहरूलाई स्थापित पेसागत र कानुनी संयन्त्र (प्रेस काउन्सिल) मार्फत सम्बोधन गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हिरासतलाई प्रेस नियमन वा न्यायिक प्रक्रियाको विकल्प बनाइनु हुँदैन ।’
महासङ्घले नेपाल सरकार, नेपाल प्रहरी र सम्बन्धित निकायहरूसँग ६ बुँदे माग राखेको छ । पर्याप्त र ठोस कानुनी आधारबिना पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा नराखी तत्काल रिहा गर्न, उनीविरुद्ध रहेका कुनै पनि उजुरी वा अनुसन्धानलाई पारदर्शी, निष्पक्ष र कानुनी प्रक्रिया अनुसार अगाडि बढाउन माग गरिएको छ ।
यस्तै अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संवैधानिक संरक्षणको सम्मान गर्न, प्रकाशित सामग्रीका विषयमा उत्पन्न विवाद समाधानका लागि स्थापित प्रेस काउन्सिल, मिडिया नियामक र न्यायिक संयन्त्रको प्रयोग गर्न आग्रह गरिएको छ ।
महासङ्घले प्रेस स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र जिम्मेवार पत्रकारिताका सिद्धान्तहरूको पक्षमा उभिने नेपालका पत्रकार र सञ्चार संस्थाहरूका प्रति ऐक्यबद्धता समेत जनाएको छ।
विश्व प्रेस काउन्सिल महासङ्घ विश्वभरका ३० भन्दा बढी प्रेस काउन्सिल, मिडिया नियामक संस्थाहरू र मिडियाका स्व-नियामक संस्थाहरूको साझा अन्तर्राष्ट्रिय निकाय हो ।

