
डडेल्धुरा : लैङ्गिक हिंसा न्यूनीकरण र पीडितमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित डडेल्धुरामा सेवा प्रदायक निकायहरूका लागि केस व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम, महिला समुत्थान परियोजनाको आयोजनामा जिल्ला सदरमुकाममा शनिबार कार्यक्रम गरिएको हो।
कार्यक्रममा लैङ्गिक हिंसालाई मानव अधिकारमाथिको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै यसले व्यक्तिको सम्मान, आत्मविश्वास र सामाजिक सहभागितामा प्रत्यक्ष असर पार्ने विषयमा जोड दिइएको थियो। सहभागीहरूले विशेषगरी महिला तथा बालिकाहरू हिंसाको उच्च जोखिममा रहने तथ्य औंल्याउँदै उनीहरूको संरक्षण र सशक्तीकरणमा एकीकृत प्रयास आवश्यक रहेको बताएका थिए।
अभिमुखीकरणका क्रममा ‘केस व्यवस्थापन’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपायहरूबारे विस्तृत प्रशिक्षण दिइएको थियो।

सेवाग्राहीको आवश्यकता पहिचानदेखि सेवा समन्वय, कानुनी सहयोग, मनोसामाजिक परामर्श तथा पुनस्र्थापनासम्मका चरणहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।
हाल उपलब्ध सेवाहरू प्रहरीमार्फत उजुरी दर्ता, अस्पतालमा उपचार तथा मेडिकल परीक्षण, सेफ हाउसमार्फत संरक्षण, मनोसामाजिक परामर्श र कानुनी सहयोगबीच प्रभावकारी समन्वयको अभाव देखिएको सहभागीहरूले बताएका थिए।
साथै, आर्थिक कमजोरी, सामाजिक दबाब, बदनाम हुने डर र कानुनी जानकारीको अभावका कारण पीडितहरू न्याय प्रक्रियामा ढिलाइ हुने समस्या अझै कायम रहेको उल्लेख गरिएको थियो।
कार्यक्रममा मेनुका बस्नेत विष्ट ले ‘लैङ्गिक हिंसा प्रतिकार्यमा घटना व्यवस्थापन’ विषयमा सहजीकरण गरेकी थिइन्।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले महिलालाई आत्मनिर्भर बनाउने खालका रोजगारीमुखी कार्यक्रम आवश्यक रहेको औंल्याउँदै पछिल्ला दिनमा बढ्दो सम्बन्धविच्छेदका घटनाप्रति चिन्ता व्यक्त गरे। उनले हिंसामुक्त समाज निर्माणका लागि राज्य, समुदाय र सरोकारवालाहरूबीच सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रममा सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट स्वास्थ्यकर्मी, प्रहरी, सेफ हाउसका प्रतिनिधि, विभिन्न संघसंस्थाका सदस्य तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।



