
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष पुगेर शाहले आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
यसअघि बिहीबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिने घोषणा गरेका थिए। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए।


बजेटका विषयमा असहमति जनाउँदै एमालेले गत ३१ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको शाह नेतृत्वको सरकार ३० दिनसम्म कायम रहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्।
शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। अब प्रदेश प्रमुख नजिर मियाँले संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।
यसैबीच, पछिल्लो समय नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको राजनीतिक सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी भइरहेको छ।

