
डडेल्धुरा : डडेल्धुरा भन्नासाथ सबैभन्दा पहिले सम्झिने नाम हो, शेरबहादुर देउवा। दशकौँदेखि देउवा नै डडेल्धुराको राजनीतिक पहिचान र ब्रान्ड बनेका छन्।
२०४८ सालदेखि निरन्तर यही जिल्लाबाट चुनाव लड्दै आएका देउवा सात पटक सांसद र पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। डडेल्धुरामा नेपाली कांग्रेसको विरासत सम्हाल्दै आएका देउवाले यसपटक अन्तिमपटक चुनाव लड्ने चाहना हुँदाहुँदै पनि चुनावी मैदान छाडेका छन्।

कांग्रेसको विशेष महाधिवेशन नभएको भए देउवा नै उम्मेदवार बन्ने लगभग निश्चित थियो। जिल्ला समितिले उनको एकल नाम सिफारिस गरिसकेको थियो।
तर, जेनजी आन्दोलन, युवाहरूको दबाब र नेतृत्व परिवर्तनको मागसँगै भएको विशेष महाधिवेशनले देउवालाई टिकट प्रक्रियाबाटै बाहिर राख्यो। यसले डडेल्धुराको राजनीतिमा नयाँ अध्याय सुरु भएको छ।
देउवा बिदाइ, महरको उदय
पाँच पटक प्रधानमन्त्री बनेका देउवालाई सम्मानपूर्वक चुनाव जिताएर बिदाइ गर्ने चाहना जिल्लाका धेरै कांग्रेस नेता–कार्यकर्ताको थियो।
तर, गगन थापा सभापति बनेपछि नैनसिंह महरले उम्मेदवारीको अवसर पाए। महर काठमाडौं बढी बस्ने नेताका रुपमा चिनिन्छन्। उनी जनतामाझ भिजेका छैनन्। महरले आफूले आफैलाई देउवापछिको उत्तराधिकारीको रूपमा चिनाउन थालिसकेका छन्।
हाल डडेल्धुरामा १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेसका महरसँगै नेकपा एमालेबाट चक्र स्नेही, नेकपाबाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ताराप्रसाद जोशी, राप्रपाबाट गोविन्द खडायत सहित अन्य दल र स्वतन्त्र उम्मेदवार छन्।
कांग्रेसलाई नेकपाको चुनौती
स्थानीय तहको नतिजा हेर्दा कांग्रेस अझै बलियो देखिन्छ। सात स्थानीय तह मध्ये पाँचमा कांग्रेस विजयी भएको छ भने दुई पालिकामा माओवादी केन्द्रले जितेको छ।
माओवादी केन्द्र र नेकपा समाजवादीबीच एकतापछि बनेको नेकपाले डडेल्धुरामा बलियो संगठनात्मक उपस्थिति देखाएको छ।
विशेषगरी दुई पालिका जितेको माओवादी केन्द्रको आधार र समाजवादीको संगठन मिसिएपछि नेकपा झनै प्रतिस्पर्धी बनेको विश्लेषण गरिएको छ।
नवदुर्गा गाउँपालिकामा नेकपा समाजवादी झिनो मतले पराजित भएको थियो, जसले त्यहाँ पनि नेकपाको जनाधार उल्लेख्य रहेको देखाउँछ।
एमाले र राप्रपा कमजोर
यसपटकको निर्वाचनमा नेकपा एमाले र राप्रपा कमजोर देखिएका छन्।
संगठन, जनसमर्थन र चुनावी माहोलका आधारमा एमाले र राप्रपाले निर्णायक भूमिका खेल्ने सम्भावना कम देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
यसकारण डडेल्धुराको मुख्य प्रतिस्पर्धा अहिले कांग्रेस, नेकपा र रास्वपा बीच केन्द्रित हुने संकेत देखिएको छ।

देउवाको साथ बिना महरलाई चुनौती
महरले टिकट पाए पनि देउवाको साथ बिना जित निकाल्न कठिन हुने कुरा कांग्रेसभित्र नै स्वीकारिएको छ। महर गगन समूहबाट टिकट पाए पनि देउवाको समर्थन खोजिरहेका छन्।
तर, शेरबहादुर देउवाले महरलाई भेट्नसमेत अस्वीकार गरेका छन्। केही दिनअघि काठमाडौं पुगेका महरले देउवासँग भेटघाट र सहयोगको अपेक्षा राखेका थिए।
तर, देउवाले भेट नदिएपछि महर कांग्रेस (बीपी) का वरिष्ठ उपसभापति तथा डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ललाई भेट्न पुगे। मल्लले शुभकामना दिए पनि चुनावी सहयोग गर्ने स्पष्ट संकेत दिएका छैनन्।
अघिल्लो निर्वाचन परिणामले मल्ललाई पनि चुनावी नतिजा परिवर्तन गर्न सक्ने व्यक्तिका रूपमा हेरिएको छ।
मत परिवर्तनको संकेत
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार सागर ढकाल ले कांग्रेसको इलाकामै आएर धावा बोले। अझ भनौँ, देउवालाई कडा टक्कर दिए।
ढकालले १३ हजार ४२ मत ल्याउँदा देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका थिए। देउवाबाट अलग भएका कर्णबहादुर मल्लले ७ हजार ५३४ मत ल्याएका थिए।
यसले डडेल्धुरामा मतदाताले विकल्प खोज्न थालेको संकेत दिएको थियो।
प्रदेशसभा नतिजाले देखाएको नयाँ ट्रेन्ड
प्रदेशसभा निर्वाचनले पनि देउवाका लागि चिन्ताको संकेत दिएको थियो। प्रदेशसभा ‘क’ बाट खगराज भट्ट र ‘ख’ बाट ताराप्रसाद जोशी विजयी भएका थिए।
‘क’ मा गठबन्धन नभएको भए एमालेको जित निश्चित जस्तै थियो। एमाले उम्मेदवार पठानसिंह बोहोराले ९ हजार १९५ मत ल्याएका थिए।
प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार जोशी विजयी हुँदा कांग्रेस दोस्रो स्थानमा सीमित भएको थियो। कांग्रेस उम्मेदवार गोविन्दराज बोहोराले १० हजार ७३७ मत ल्याएका थिए।
अहिले त्यही जोशी रास्वपाको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।
रास्वपा बन्ला त गेम चेन्जर ?
गत निर्वाचनमा मतदाताले नेता फेर्न चाहेको संकेत देखाइसकेका थिए। यसपटक रास्वपाको चुनावी माहोलले डडेल्धुरामा नयाँ राजनीतिक तरंग ल्याएको छ। देशभर रास्वपाको माहोल छ।
जसरी स्वतन्त्र रूपमा लडेका सागर ढकालले उल्लेख्य मत ल्याएका थिए, त्यही मतलाई रास्वपाले संस्थागत गर्न सके डा. ताराप्रसाद जोशी गेम चेन्जर बन्न सक्ने देखिन्छ। पछिल्लो समय रास्वपाले जिल्लामा संगठन पनि विस्तार गरिसकेको छ।
कम्युनिष्ट नेताका रूपमा चिनिने जोशीको सादगी छविका कारण पनि उनलाई पछ्याउनेको संख्या उल्लेख्य रहेको बताइन्छ।
यसपटक जोशी, माल र महर बीच त्रिकोणात्मक प्रतिस्पर्धा कडा हुने आकलन राजनीतिक बृत्तमा छ।



