
डडेल्धुरा : भागेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
बुधबार गाउँपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा वर्षभर सञ्चालन भएका योजना, कार्यक्रम तथा आय–व्ययको विवरण प्रस्तुत गरिएको थियो।


प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टका अनुसार सो वर्ष गाउँपालिकाले कुल ४५ करोड ६३ लाख ९८ हजार ३३१ रुपैयाँ बजेट विनियोजन गरेकोमा ३७ करोड ७६ लाख ४ हजार १९० रुपैयाँ खर्च भएको छ।

विनियोजित बजेट खर्चको प्रगति ८२.७३ प्रतिशत रहेको उनले बताए।
साथै, गाउँपालिकाले ३६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिइयो।
सार्वजनिक सुनुवाइमा सहभागीले विभिन्न समस्या तथा सुझाव राखेका थिए।
सडक स्तरोन्नति, शैक्षिक सुधार, बेरुजु असुल उपरान्त घटाउने, नागरिकप्रति थप जिम्मेवार बन्ने, पालिकामा सञ्चालित एम्बुलेन्सको भाडादर समायोजन गर्ने लगायतका विषय प्राथमिकतामा उठे।

कार्यक्रममा सहभागी तीर्थराज महताले कर्मचारीहरूले राजनीतिक प्रतिशोध साध्ने गरेको आरोप लगाए। उनले सडक खन्ने मात्र भएको, स्तरोन्नति नभएको पनि बताए।
नेकपा एमाले भागेश्वर गाउँ कमिटी अध्यक्ष ज्ञानेन्द्र भाटले वडा कार्यालयका कर्मचारीलाई तानेर पालिकामा ल्याइएको, अस्थायी कर्मचारीलाई सचिव बनाइएको, ड्राइभर नियुक्ति भए पनि काम नगरिएको र एम्बुलेन्स सञ्चालनमा समस्या देखिएको प्रश्न उठाए।


नेकपा माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष पुष्पराज भट्टले रोजगारमुखी कार्यक्रम, गाडी मर्मतमा बढी खर्च, प्रमुख प्रशासकीय अधिकृत सरुवामा खिचातानी, बेरुजु परीक्षण र औषधि खरिदमा महालेखाले उठाएको प्रश्नबारे जिज्ञासा राखे।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य चक्रसिंह ठकुराठीले योग्यता नपुगेका व्यक्तिलाई प्रअ राख्ने परिपाटी हटाएर योग्य व्यक्तिलाई प्रअ नियुक्त गर्नुपर्ने माग गरे।
सहभागी दानबहादुर चन्दले एम्बुलेन्स भाडा समायोजनको आवश्यकता औंल्याए भने गीता भट्टले महिला तथा बालबालिकाको क्षेत्रमा काम कमजोर भएको बताउदै महिलाका क्षेत्रमा कार्यक्रम बढाउनुपर्ने बताइन्।

सुनुवाइ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हेमराज चटौले विकासका लागि आफू निरन्तर लागिरहेको बताए।
उनले उठेका गुनासा र सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै जनतालाई सर्वोपरि राखेर काम गर्ने प्रतिवद्धता जनाए।

सुनुवाइ कार्यक्रम मार्फत पालिकाको प्रगती र समस्याको बारेमा स्पष्टता भएको बताउदै अध्यक्ष चटौतले पालिकाको बिकासका लागि कार्यपालिका र अन्तरपार्टी संगको छलफल मार्फत रचनात्मक योजना बनाएर अधिबढ्ने बताए।
जनप्रतिनिधि अस्थाई पद रहेको बताउदै उनले सकेसम्म पालिकाको बिकास र जनताको सेवामा काम गर्न प्रतिबद्ध रहेको बताए।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले पनि कार्यक्रममा सुझावसहित मन्तव्य राखेका थिए।
आफू सुपरिवेक्षकको भुमिकामा रहेको बताउदै सुनुवाइ कार्यक्रम मार्फत भागेस्वर गाउँपालिकाको बारेमा गहिरो जानकारी पाएको प्रमुख भण्डारीले बताए।



