
डडेल्धुरा : अमरगढी नगरपालिका डडेल्धुराले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
बिहीबार नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो।


नगरपालिकामा २०८१/०८२ मा ५५ करोड १६ लाख बराबरको खर्च भएको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए।
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायका अनुसार विनियोजित बजेटमा खर्च भएको बजेटको प्रगति प्रतिशत ९६ प्रतिशत रहेको छ।

नगरपालिकाको पुँजीगततर्फ ९६ प्रतिशत प्रतिशत खर्च र चालुतर्फ ८२ प्रतिशत खर्च भएको नगरपालिकाको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ।
यस्तै, नगरपालिकाले एक करोड ५१ लाख राजश्व संकलन गरेको उपाध्ययले बताए।

नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले नगरमा भएका समस्या तथा सुझाव दिएका थिए।
सुनुवाइमा सडक स्तरोन्नती गर्नुपर्ने, फोहोर मैला व्यवस्थापन गर्नुपर्ने, बागबजारको सडक व्यवस्थित बनाउनु पर्ने, सदरमुकामका विभिन्न स्थानमा सिसिटिभी जडान गर्नुपर्ने, पशुचौपायाको व्यवस्थापन, नगरपालिकाको वडा नं १ मा निर्माण गरिएको औधोगिक ग्राम सुचारु गर्नुपर्ने, शैक्षिक सुधार र गुणस्तर वृद्धिमा जोडदिनुपर्ने, पालिकाको बेरुजु घटाउने तथा असुल गर्नुपर्ने लगायतका प्रश्न तथा सुझावहरू प्राथमिकतामा रहेका थिए।


सुनुवाइ कार्यक्रममा बोल्दै नगरप्रमुख डिल्लीराज जोशीले नगरको विकास गर्न आफू लागि परेको बताए।
नगरप्रमुख जोशीले नगरपालिकाका राम्रा अभ्यासको प्रचारप्रसार कम हुने र नकारात्मक टिकाटिप्पणी मात्रै बढी हुने गरेको गुनासो गरे।

उनले भने, ´हत्तारिनु हुदैन गतविगतभन्दा अमरगढी नगरपालिकामा सुधार हुँदै गएको छ। अबको एकदुई वर्षमा व्यापक विकास र परिवर्तन हुनेछ।`
उनले पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए।

फोहर व्यवस्थापन र बजार व्यवस्थापन अहिलेको मुख्य समस्या भएको बताउदै उनले यो समस्या समाधान तर्फ उन्मुख भएको बताए।
उनले सकारात्मक र रचनात्मक सुझावको अपेक्षा गर्दै कार्यक्रममा सहभागी प्रश्नकर्तालाई धन्यवाद दिएका छन्।

आफूलाई काठमाडौंमा बढी बस्यो भन्ने गुनासो आएपनि नगरको विकासका लागि आफूले गरेको परिकल्पना पूरा गर्न काठमाडौं जाने गरेको उनको भनाइ थियो।
सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका (प्रजिअ) जनार्दन गौतमले सुझाव मन्तव्य व्यक्त गरेका थिए।






