
डडेल्धुरा : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र (लोक) बहादुर भण्डारीलाई पदमुक्त गरिएको छ।
मन्त्रालयले मंगलबार २०८२ साउन २६ गतेदेखि लागू हुने गरी भण्डारीलाई पदमुक्त गरिएको जानकारी प्रशासनलाई पठाएको थियो।

मन्त्रीको सचिवालयमा रहँदा भण्डारीको कार्यशैली र क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेपछि सो निर्णय गरिएको हो।
मन्त्री माथि नै विभिन्न आलोचना भइरहेका बेला उनका स्वकीय अधिकृत भण्डारीले डान्स बारमा ‘युवती उचाले’को विषय सामाजिक सञ्जाल लगायत मिडियाहरूमा चर्को आलोचनाको विषय बनेको थियो।
पदमुक्त भएपछि भण्डारीले बुधबार सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण सार्वजनिक गरेका छन्।
करिब एक महिनाअघि साथीको आग्रहमा बारमा आयोजना भएको कार्यक्रममा सहभागी भई संगीतको धुनमा नाचेको भिडियो तोडमोड गरी चरित्रहत्या गर्ने प्रयास भएको उनले दाबी गरेका छन्।
उनका अनुसार उक्त भिडियो सार्वजनिक गर्नु अघि उनलाई ५० हजार रुपैयाँ दिनु नत्र सार्वजनिक गर्ने धम्कीसमेत दिइएको थियो।
उनले लेखेका छन्, ‘मैले कुनै अपराध गरेको छैन। यदि सार्वजनिक गर्न मन छ भने गर भनेको थिएँ यो न त कुनै सामाजिक अपराध हो, न त कानुनविरुद्धको कार्य। तर करिब एक महिना पछि भिडियो काटछाँट गरी हाउभाउ परिवर्तन गरेर, राजनीतिक र व्यक्तिगत रुपमा प्रहार गर्ने उद्देश्यले प्रचार गरिएको हो।’
भण्डारीले सचिवालयलाई जानकारी दिँदै स्वयं जिम्मेवारीबाट अलग हुने निर्णय गरेको पनि उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘कसैको निजी जीवनमा प्रवेश गरेर चरित्रहत्या गर्ने हरुलाई एकदिन समयले, कानुनले र भगवानले पनि उत्तर दिनेछ।’

भण्डारीले आफ्नो व्यक्तिगत कारणले कसैलाई चोट पुगेमा क्षमा माग्दै समाजप्रति आफ्नो बफादारी यथावत रहने बताएका छन्।
उनको स्टाटस जस्ताको त्यस्तै :
सामाजिक संजालमा जोडिएका सम्पुर्ण महानुभाव हरुमा सन्ध्याकालिन नमस्कार
करिब एक महिनाअघि, आफ्नो दैनिक सार्वजनिक जिम्मेवारीको समयसीमा पूरा गरेपछि , एक साथीको विशेष आग्रहमा बारमा म एक कार्यक्रम (पार्टी) मा सहभागी भएको थिए। त्यहाँ, सयौं मानिसहरूसँगै, संगीतको धुनमा केही समय रमाइलो गर्दै नाचेको मेरो भिडियो सार्वजनिक भएको रहेछ। सार्वजनिक गर्नु भन्दा अगाडी मलाई ५० हजार दिनु सार्वजनिक गर्दैनौ भनेर भनिएको थियो तर मैले कुनै अपराध गरेको छैन दिदैन सार्वजनिक गर्न नै मन छ भने गर भनेको थिए सार्वजनिक गर्यो । यो कुरा मैले खुला रूपमा स्वीकार्छु, किनकि यो न त कुनै सामाजिक अपराध हो, न त कानून विरुद्धको कार्य। यो मेरो नितान्त व्यक्तिगत जीवनको हिस्सा थियो। जबरजस्ती पनि होइन, कसैको हत्या गरेको पनि हैन र पूर्ण रूपमा साथिहरुको इच्छामा गरिएको रमाइलो मात्र थियो।
तर सुनियोजित रुपमा करिब १ महिना पछि भिडियो लाई तोडमोड गरेर सानाना क्लिप बनाएर, हाउभाउ बदलेर , केही व्यक्तिहरू र मिडियाले यो नितान्त व्यक्तिगत विषयलाई तोडमोड गरी, सार्वजनिक जिम्मेवारीसँग जोडेर राजनीतिक तथा व्यक्तिगत रुपमा प्रहार गर्ने प्रयास गरे। आफ्नो निजी समयमा एउटा साधारण व्यक्तिगत गतिविधिलाई अनावश्यक रूपमा बढाइचढाइ प्रस्तुत गरेर चरित्र हत्या गर्न खोजिएको देख्दा दुःख लागेको छ। जसरी बार वा क्लबमा जाने, नाच्ने वा गीत सुन्ने हजारौं मानिसहरूको व्यक्तिगत कुरा हुन्छ, त्यस्तै यो पनि मेरो व्यक्तिगत जीवनको सामान्य पाटो मात्र थियो ।
विगतका दिनदेखिनै बिहान उठ्दा देखि साझ निदाउदा सम्म , सार्वजनिक जिम्मेवारी देखि व्यक्तिगत कुराहरूमा सम्म निरन्तर पछि परिरहने हरुले, कुनै कुरा नपाएपछि अन्ततः व्यक्तिगत जीवनमा प्रवेश गरेर आफ्नो नितान्त व्यक्तिगत जीवनमा प्रवेश गरेर
सार्वजनिक जिम्मेवारी भन्दा बाहिरको समयमा नाचगान गरेको भिडियो चोरेर मोबाईलमा कैद गर्दै मिडियाबाजिसम्म गरे।
यद्यपि, मेरो निजी जीवन लाई जब सार्वजनिक जिम्मेवारीसँग जोडेर प्रश्न उठाइयो र मैले मेरो कमजोरी लाई पनि आत्मसात गर्दै , सार्वजनिक रुपमा प्रश्न उठिसकेपछि स्वयं जिम्मेवारीबाट अलग हुने निर्णय पश्चात् सचिवालय लाई जानकारी पनि गरेको हु।
म सकारात्मक आलोचनालाई स्वागत गर्छु, तर व्यक्तिगत जीवनमा अतिक्रमण गरी सार्वजनिक जिम्मेवारी संग जोडेर मिडियाबाजि गर्ने , आफ्नो निजी जीवन लाई जिम्मेवारी संग जोडेर नियोजित रूपमा प्रहार गर्ने हरुलाई एकदिन सबैले मुल्यांकन गर्ने नै छन्। व्यक्तिगत जीवन सबैका हुन्छन् , रातदिन संगै हुने, सामाजिक संघर्ष संगै गर्ने तर राजनीतिक पुर्वाग्रह बोकेर व्यक्तिको निजि जीवन सम्म पुगेर हानि पुर्याउने हरुलाई एकदिन समयले चोट पुर्याउने नै छ। मैले कुनै गैरकानुनी काम गरेको पनि हैन र गर्ने पनि छैन , तर अर्काको निजी जिवनमा प्रवेश गरेर कसैको चरित्रहत्या गर्न खोज्ने हरुको जिवनमा एकदिन समयले , कानुनले अन्ततः भगवानले प्रवेश गर्ने नै छ।
मलाई सधैं साथ सहयोग गर्नुहुने, सद्भाव, सुझाव दिनुहुने आदरणीय व्यक्तित्व हरुलाई भन्न चाहन्छु , म समाजप्रति हिजोजस्तै आज पनि बफादार छु, र भोलिपनि रहनेछु। मेरो व्यक्तिगत जीवनका कारण कसैलाई चोट पुगेको भए, त्यसप्रति म क्षमायाचि छु, तर मेरो उद्देश्य र कार्य सधैं समाजहितमै केन्द्रित रहनेछन्।
मलाई साथ, माया, सुझाव र सद्भाव दिनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। बाकि आलोचना गर्नेहरु त जतिसुकै राम्रो काम गरेपनि सानो सानो कमजोरी खोज्दै चोरेर भिडियो बनाउन लागि रहन्छन्।



