
डडेल्धुरा : अमरगढी नगरपालिका–६ का वडाध्यक्ष केवी ताम्राकारमाथि बिहीबार राति निर्घात कुटपिट भएको छ।
उनीमाथि बिहीबार साँझ वडानम्बर ७ को पोखराबाट घर फर्किने क्रममा भजनपुरस्थित वडाकार्यालय नजिकै स्थानीय सन्देश खड्का र उनका बुवा सुरेश खड्काले कुटपिट गरिएकाे आरोप लागेको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार पीडित र पीडक दुबै पक्षले प्रहरीमा ठाडो उजुरी दिएका छन्।
घटनाबारे प्रहरीले थप बुझिरहेको उनी बताउँछन्।
‘हिजो पीडक (खड्का पक्ष)ले प्रहरीमा फरक ढंगले खबर गर्नुभएको थियो। आज फरक उजुरी आयो,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेकाे छ।’
के भन्छन् खड्का ?
सन्देशका बुवा सुरेश आफू घटनामा सामेल नभएपनि आफ्नो नाम जोडेको आरोप लगाउँछन्।
घटना हुने समयमा आफू घटनास्थलमा नभएको दाबी उनको छ। तर, वडाध्यक्षले विगतमा पनि विभिन्न बहानामा छोरालाई दुख दिने गरेको उनी बताउँछन्।

छोराको भनाइ उद्वत गर्दै सुरेश भन्छन्, ‘रक्सी खाएर सरकारी बाइकमा लडेको अवस्थामा छोराले देखेपछि बाइकसहित उठाएकाे थियो। तर, वडाध्यक्षले अश्लील शव्द प्रयोग गरेर गाली गरेपछि झगडा भएको हो।’
त्यसैमा थप्दै भने, ‘उहाँ (वडाध्यक्ष)ले झगडा भएपछि गाउँलेहरू बोलाउन थाल्नुभयो। त्यसपछि हामीले प्रहरीलाई खबर गरेका हाैं। तर, प्रहरी आइपुग्दा मापसे सेवन गरेका कारण वडाध्यक्ष भाग्नुभयो। प्रहरीले फेला पार्न सकेन्।’
यश विषयमा बुझ्न खोज्दा वडाध्यक्ष ताम्राकारले फोन उठाएनन्।
प्रहरी स्रोतका अनुसार वडाध्यक्षले जोखिमपूर्ण हतियार प्रयोग गरेर बावुछोराले मरणासन्न बनाउने गरी आक्रमण गरेको उजुरी दिएका छन्।
घाइते वडाध्यक्ष थप उपचारका लागि धनगढी गएका छन्। प्रहरी स्रोत भन्छ, ‘हामीसँग समन्वय गरेर जानुभएको होइन। यतै उपचार हुने अवस्था थियो वा बाहिर जाने अवस्था हो थाहा भएन्।’
नगरपालिकाको विज्ञप्ति : कारबाहीको माग
घटनापछि अमरगढी नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै पीडकलाई कारबाहीको माग गरेको छ।
नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष खेमराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नागरिक सेवामा खटिएको वडाध्यक्षमाथि सार्वजनिक सवारी साधनमासमेत तोडफोड गर्दै भएको आक्रमण कानूनी राज्यको उपहास हो।”
नगरपालिकाले यस घटनालाई “गुण्डागर्दी शैलीको आक्रमण” भन्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।
