

डडेल्धुरा : डडेल्धुराका मुख्य बजार क्षेत्रमा हुने सडक अवरोध र अव्यवस्थित पार्किङ हटाउन जिल्ला प्रशासनले कडाइ गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी वेदराज फूयलको अध्यक्षतामा आज बसेको जिल्ला समन्वय समितिको बैठकले बागबजार, बगरकोट सडक र तुफानडाँडा बजारको ट्राफिक व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको हो।

निर्णयअनुसार भागेश्वर गाउँपालिकामा चल्ने सवारी साधनले बगरकोट सडकखण्डको चिरञ्जीवी अस्पतालतर्फको एक साइडमा मात्र पार्किङ गर्नुपर्नेछ।
अन्य पालिकामा सञ्चालन हुने सवारी साधनलाई बसपार्क तथा आसपासका उपयुक्त स्थानमा पार्किङ गराइनेछ।
त्यस्तै, बगरकोट सडक, बागबजार र तुफानडाँडा बजारमा दिउँसो १ बजेदेखि ३ बजेसम्म मालवाहक सवारी साधनको लोड–अनलोड गर्न रोक लगाइएको छ।
तुफानडाँडादेखि बगरकोट चोकसम्म सडकमा राखिएका निर्माण सामग्री तथा निर्माण उपकरण तत्काल हटाउनसमेत निर्णय गरिएको छ।

बजार क्षेत्रमा पार्किङ गर्दा घरतर्फको एक लेनमा मोटरसाइकल र त्यसपछिको एक लेनमा कार तथा अटो रिक्सा राख्ने व्यवस्था मिलाइनेछ।
सडकको बीच भागमा पार्किङ गर्न भने निषेध गरिनेछ।
ट्राफिक व्यवस्थापनका लागि आवश्यक साइन पोस्ट, रोड डिभाइडरलगायतका सामग्री सडक डिभिजन डोटी र अमरगढी नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
यस्तै, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने, गलत ठाउँमा पार्किङ गर्ने तथा निर्णयको अवज्ञा गर्ने चालकलाई नियमानुसार कारबाही गरिने भएको छ।
बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अमरगढी नगरपालिकाका दुई जना नगर प्रहरी खटाउन तत्काल पत्राचार गर्ने निर्णयसमेत भएको छ।
राजमार्गलाई अवरोधरहित सञ्चालन गर्न कार्ययोजना तथा रोष्टर २०८३ पारित गरी कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ।


