बोहरा मेडिको सेन्टर

५ वर्षपछि किसुनजी भवन फर्कीए देउवा कांग्रेसी

dream cafe
learnar

डडेल्धुरा : पाँच वर्षपछि नेपाली कांग्रेस डडेल्धुराका देउवा पक्षका नेता–कार्यकर्ता फेरि कृष्णप्रसाद भट्टराई स्मृति भवन अर्थात् ‘किसुनजी भवन’ पुगेका छन्।

कांग्रेसको १४औँ महाधिवेशनका क्रममा उत्पन्न विवादपछि देउवा र कर्णबहादुर मल्ल पक्षबीच विभाजन हुँदा किसुनजी भवनबाट देउवा पक्ष टाढिएको थियो।

CNA

पाँच वर्षपछि भने कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा देउवा पक्षका लागि अमरगढी नगरपालिका-५ बागबजारमा रहेको यही भवन फेरि खुला भएको छ।

कर्णबहादुर मल्ल जिल्ला सभापति भएका बेला निर्माण भएको किसुनजी भवन त्यसपछि लामो समयसम्म डडेल्धुरा कांग्रेसका गतिविधिको मुख्य केन्द्र बनेको थियो।

तर, २०७८ को १४औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यताको विवाद चर्किएपछि कांग्रेस दुई समूहमा विभाजित भयो।

क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट थपघट गरिएको भन्दै मल्ल पक्षले वडा अधिवेशन बहिष्कार गरेको थियो।

यही विवादका क्रममा किसुनजी भवनमै दुवै पक्षबीच तनाव बढ्दै कुटाकुटको अवस्थासमेत सिर्जना भएको थियो।

पछि देउवा पक्षले प्रहरी परिचालन गरेर अधिवेशन अघि बढायो।

तर, अधिवेशनबाट पार्टीको संगठनात्मक नेतृत्व आफ्नो पक्षमा पारे पनि देउवा पक्षले किसुनजी भवनलाई आफ्नो पार्टी कार्यालयका रूपमा प्रयोग गर्न सकेन।

GBL NEW

उसले तुफानडाँडामा भाडाको घर लिएर पार्टी कार्यालय सञ्चालन गर्‍यो।

मल्ल पक्षले भने किसुनजी भवनबाटै आफ्ना राजनीतिक गतिविधि अघि बढायो।

पछि मल्ल बीपी कांग्रेसमा आबद्ध भएपछि पनि भवन उनको पक्षका गतिविधिको केन्द्रका रूपमा रह्यो।

अहिले फेरि कांग्रेस डडेल्धुरामा गगन थापा पक्ष र शेरबहादुर देउवा पक्षबीच अधिवेशनलाई लिएर प्रतिस्पर्धा छ।

गगन पक्षले असोज ३ गतेदेखि १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गरी पालिका अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाइसकेको छ।

मल्लले भने असोज ३ गतेको अधिवेशन विधि र विधानविपरीत भएको भन्दै बहिष्कार गरेका थिए।

गगन पक्षको अधिवेशनलाई काउन्टर दिँदै देउवा पक्षले असोज १५ गतेदेखि अधिवेशन गर्ने तयारी थालेको छ।

सोही तयारीका लागि देउवा पक्षको बैठक किसुनजी भवनमै बसेको हो।

बैठकमा कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशी, लक्ष्मीप्रसाद अवस्थी, इन्द्र कार्की लगाएतका नेता–कार्यकर्ता सहभागी भए।

यससँगै पाँच वर्षपछि देउवा पक्षका नेता–कार्यकर्ता किसुनजी भवनमा पुनः प्रवेश गरेका छन्।

अधिवेशनकै विवादबाट पाँच वर्षअघि टाढिएको देउवा पक्ष अधिवेशनकै तयारीका क्रममा फेरि किसुनजी भवनमा फर्किएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.