- डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाका महिला बीच बाटोमै शिशुलाई जन्मदिन बाध्य छन्। सडक र अस्पतालको पहुँच ग्रामीण भेगसम्म नहुनुले यहाँका महिला बाटोमै शिशुलाई जन्मदिन बाध्य भएका हुन्।
डडेल्धुराको परशुराम नगरपालिका – ८ जमरानीका मिना लुहारले बाटोमै बच्चा जन्माउनु भएको छ । गाउँमा सडक र अस्पतालको पहुँच नभएका कारण उहाँ बाटोमै शिशुलाई जन्मदिन बाध्य हुनु भएको हो ।
परशुराम नगरपालिका – ८ की कविता धमलाका अनुसार मंगलबार बेलुकी प्रशव पिडा सुरु भयो । प्रशव पीडा सुरु भएपछि उहाँलाई पिठ्युँमा बोकेर सादनी स्वास्थ्य चौकी लैजाने क्रममा बेलुकी ६ः३० बजे लामीगडाको जंगलमा शिुशु (छोरा) को जन्म भयो । गाँउमा स्टेचर सम्म नभएपछि गाँउका महिलाहरुको सहयोगमा पिठ्युमा बोकेर अस्पताल लगिएको धमलाले बताउनुभयो ।
शिुशुको जन्मपछि महिलाको रक्तश्राव नरोकिएकाले महिला र शिशुलाई मंगलबार राती १० बजे सादनी स्वास्थ्य चौकी पुगाएको धमलाले बताउनुभयो ।
घरबाट २ घण्टाको दुरीमा रहेको स्वास्थ्य चौकी पुग्न एक घण्टाको पैदल यात्रा बाकी थियो तर उहाँले जंगलको बिचमा बच्चा पाउन सफल हुनुभयो, स्थानिय भुपेन्द्र धामीले बताउनुभयो ।
धामीले आक्रोश पोख्दै सामाजिक संजालमा परशुराम नगरपालिकाका नगरप्रमुख लाई सोध्नु भएको छ ‘हेल्लो युवा वैज्ञानिक मेयर साप ! अस्ति तपाईंको पहलमा ल्याएको एम्बुलेन्स कता थन्काउनु भएको छ ? सडकको सुविधा कहिले हुन्छ ? सडक नै नबनाएर एम्बुलेन्स के-का लागि ल्याउनुभएको हो ? एक जना कार्यकर्ता भर्तीका लागि ?’ उहाले लेख्नु भएकोछ । अस्पताल पुगेका महिला र शिशुुको अवस्था सामान्य रहेको छ ।
तस्बिर ः कविता धमलाको फेसबुकबाट ।