

डडेल्धुरा : डडेल्धुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशी नागरिक भेटघाटमा व्यस्त रहेका बेला उनलाई स्थानीयले लखेटेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ।
सांसद जोशी स्थानीयसँगको भेटघाट सकेर सहज रूपमा फर्किएको दाबी गरिएको छ।


सांसद जोशीले जिल्लाको विकट क्षेत्र परशुराम नगरपालिका–७ स्थित ऐतिहासिक भूमि मलासबाट नागरिक भेटघाट सुरु गरेका थिए।
शनिबार उनी परशुराम नगरपालिका–४, रज्यौडाका स्थानीयसँग भेटघाट गर्न पुगेका थिए।
राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बगरखेती गर्दै आएका स्थानीयले खेती गर्न नपाएको विषयमा असन्तुष्टि जनाउँदै आएका छन्।
डिभिजन वन कार्यालयले खेती गर्न रोक लगाएपछि समस्यामा परेका स्थानीयले सांसद जोशीसँग आफ्नो गुनासो राखेका थिए।
छलफलमा चार–पाँच जना पाका उमेरका स्थानीय सहभागी थिए। भने केही युवा भिडियो बनाउँदै थिए।
उनीहरूले बगरखेती गर्न नपाएको विषय उठाउँदै ‘घण्टी सरकारले बिचल्लीमा पार्यो’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
उक्त विषय अदालतसम्म पुगेकोले सम्बन्धित निकायले समाधान दिने भन्दै आफूले स्थानीयलाई सम्झाइबुझाइ गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भरत धानुकले बताए।
सांसद जोशीले पनि आफ्नो हैसियतले भ्याएसम्म सहयोग गर्ने आश्वासन दिएका थिए।
त्यसपछि स्थानीयसँगको छलफल सकेर सांसद जोशीसहितको टोली अन्य स्थानमा नागरिक भेटघाटका लागि सहज रूपमा फर्किएको धानुकको भनाइ छ।
धानुकका अनुसार टोली त्यहाँ पुग्नुअघि नै केही व्यक्तिले वातावरण भड्काउन खोजिरहेको सूचना पाएका थिए।
तर, स्थानीयसँगको छलफलमा सांसद जोशीलाई लखेटिएको अवस्था नरहेको उनले स्पष्ट पारे।
तर, टोली फर्किएपछि कांग्रेसनिकट नेपाल तरुण दलका परशुराम नगर अध्यक्ष अर्जुन बोहराले सांसद जोशीलाई स्थानीयले लखेटेको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका थिए।
उक्त स्टाटसपछि सांसद जोशी लखेटिएको भन्ने सूचना प्रहरीसम्म पुगेको थियो।
जनप्रतिनिधिको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले पनि घटनाबारे चासो देखाएको थियो।
सांसद जोशी लखेटिएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले घटनाको वास्तविकताबारे बुझ्ने प्रयास गरेका थिए।
त्यसक्रममा मात्रै सांसद जोशीले आफू लखेटिएको भन्ने हल्ला फैलिएको थाहा पाएका थिए।
डीएसपी सिंहका अनुसार सांसद जोशी लखेटिएको भन्ने अफवाह फैलाएको विषयमा बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढामा बोलाइएको थियो।
प्रहरीले घटनाबारे सोधपुछ गरी पोष्ट करेक्सन गर्न निर्देशन दिएको डीएसपी सिंहले बताए।
यता सांसद जोशीको सचिवालयले भने लखेटिएकाे विषय अफवाह भएको जनाएको छ।

