

दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकामा आउँदो १७ देखि १९ गतेसम्म अपि हिमाल पर्यटन उत्सव आयोजना हुने भएको छ।
गाउँपालिकाले पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागेको हो।


गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमअनुसार उत्सव आयोजना गर्न लागिएको बताए।
उनका अनुसार उत्सव अपि हिमाल गाउँपालिका–१ स्थित अपि हिमाल आधार शिविरको पिलकन्दमा सञ्चालन हुनेछ।
उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि सञ्चालन गरिने उनले बताए।
एकीकृत पर्यटन उत्सव भएकाले गाउँपालिकाका सबै क्षेत्र लाभान्वित हुने अपेक्षा गरिएको अध्यक्ष बोहोराले बताए।
उत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आफ्नै संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको उनले जानकारी दिए।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको अध्यक्ष बोहोराले बताए।
पर्यटन पूर्वाधार निर्माण तथा पदमार्ग विस्तारलाई प्राथमिकता दिँदै अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
उनका अनुसार पछिल्लो समय वार्षिक पाँच हजारभन्दा बढी पर्यटक अपि हिमाल पुग्ने गरेका छन्।
चालु वर्षभित्र पर्यटकको सङ्ख्या १० हजार पुर्याउने लक्ष्य गाउँपालिकाले लिएको उनले बताए।
सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यभित्र अपि हिमाल गाउँपालिका पनि परेको छ।
निर्माण भएका पर्यटन पूर्वाधारलाई दिगो बनाउँदै स्थानीय रोजगारी र आयआर्जनसँग जोड्ने योजना रहेको अध्यक्ष बोहोराले बताए।
गाउँपालिकालाई प्रविधिमैत्री, आत्मनिर्भर तथा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।

