

डडेल्धुरा: दार्चुलाको अपि हिमाल गाउँपालिकामा आगामी कात्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने ‘अपि हिमाल पर्यटन उत्सव’मा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई निम्तो पठाइएको छ।
उत्सवको उद्घाटन गर्न प्रधानमन्त्री शाहलाई निम्तो पठाइएको हो।


उत्सवमा विशिष्ट अतिथिका रूपमा पर्यटनमन्त्री खड्गराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सातै प्रदेशका पर्यटनमन्त्रीलाई समेत निमन्त्रणा पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टले जानकारी दिए।
प्रधानमन्त्री शाह उत्सवमा सहभागी हुने वा नहुने भन्ने विषय भने टुंगो लागिसकेको छैन।
यसअघि गत असारमा प्रधानमन्त्री शाहले अपि हिमालको आधार शिविरमा क्रिकेट खेलिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए, जुन निकै चर्चामा आएको थियो।
अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उत्सवमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिए।
तीन दिनसम्म चल्ने उत्सवमा सांस्कृतिक कार्यक्रम, साहित्यिक गोष्ठी, प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता, योग तथा ध्यान शिविर र जलवायु संवाद आयोजना गरिनेछ।
उत्सवको मुख्य आकर्षण अपि हिमालको आधार शिविरमा आयोजना गरिने क्रिकेट खेल रहने गाउँपालिकाले जनाएको छ।
यसले उच्च हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै खेलकुद पर्यटनको सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ।

