हिक्मत सिंह
डडेल्धुरा । डडेल्धुराको चुरे क्षेत्र (भित्री मदेश) मा काठ कटानी तथा तस्करीको गुनासो आएपछि जिल्ला वन क्षेत्र समन्वय समितिको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत कृष्ण बहादुर बोहराको नेतृत्वमा अनुगमन टोली जिल्लाको परशुराम नगरपालिका र आलिताल गाउँपालिका अन्तरगतका वन क्षेत्रमा पुगेर निरिक्षण गरेको छ ।
‘परशुराम नगरपालिका र आलिताल गाउँपालिका अन्तर्गतका सामुदायिक वनमा अवैध काठ कटानी भइरहेको गुनासो आएपछि टोली सो स्थलमा पुगेर निरिक्षण गरेको सहायक वन अधिकृत कृष्ण बहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालयलाई आएको सुचना अनुसारको काठ कटानी भएको पाइएन । निरिक्षण टोलीले घाटगद्दी र आसपासका क्षेत्रमा स्थलगत रुपमा अनुगमन गरेको हो ।’
वि.स. २०६८ सालमा चुरे क्षेत्रमा व्यापक वन कटानी भएपछि १ सय ८ सामुदायिक वनमा मुद्धा लागेको थियो । वन मुद्धामा कार्यालयका अधिकृत देखी कर्मचारी र सामुदायिक वनका पदाधिकारीले सजाय पाएपछि अहिले काठ कटानीका गतिविधिबाट सबैपक्ष सचेत रहेको आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले बताउनुभयो । विगतको ईतिहास जिवित नै रहेकाले वन काटानी र काठ तस्करीका घटनाबाट जनता त्रसित रहेको अध्यक्ष पार्की बताउनुहुन्छ ।
परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौ सामुदायिक वनलाई आन्तरिक खपतका लागी गत आर्थिक वर्षमा काठ संकलनको अख्तियारी दिएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख राम विचारी ठाकुरले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा कुनै पनि सामुदायिक वनलाई काठ संकलन तथा पैठारीको आदेश नदिएको बताइएको छ ।
अवैध काठ कटानीको आशंका
परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका सामुदायिक वन क्षेत्रभित्र अवैध काठ कटानीको आशंका बढेको छ । पछिल्लो समय बेवारिसे काठ फेला पर्ने, सालका रुखहरुमा रिङ लगाउने र रुखको फेदमा प्वालपारी रुख सुकाउने जस्ता गतिविधिले अवैध काठ कटानीका घटना हुनसक्ने आशंका गरिएको छ । वन विनाश र तस्करीको घटनामा चर्चा कमाएको डडेल्धुरा जिल्लामा पुनः घटना दोहोरिन सक्ने स्थानियको भनाई छ ।
परशुराम नगरपालिका – ६ मा रुख सुकाउने गतिविधि देखिएको छ । विभिन्न बाहनामा रुख काट्ने वा सुकाउने गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरि वन ऐन अनुसार कारवाही गरिने परशुराम सव वन डिभिजन प्रमुख सुरेशचन्द्र डिसिले बताउनुभयो । केही आंशिक घटना बाहेक वन अतिक्रमण र रुख कटानीका घटनाहरु नरहेको सव डिभिजन प्रमुख डिसिले बताउनुभयो । पालिकाभित्र काठ कटानी र तस्करीका घटना हुने गरेको भएपनि वनकर्मीको मिलेमतोमा घटना थामथुम पारिने गरेको स्थानियको आरोप छ ।
सडक छेउछाउ र घाटगद्धीमा अवैध काठ फेला नपरेपनि सामुदायिक वन क्षेत्रभित्र रुख कटानी भएको आशंका बाहिरिन आएको छ । अवैध काठ काटिएको गुनासो बाहिर आएपनि स्थलगत निरिक्षणमा त्यस्तो नदेखिएको सहायक वन अधिकृत बोहरा बताउनुभयो । स्थानियहरुले अनुगमन निरिक्षण टोलीले सामुदायिक वन क्षेत्र भित्र अनुगमन नगरि सडक छेउछाउमा मात्रै अनुगमन गरेको प्रति गुनासो गर्नुभएको छ ।