काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको खोजी सुरु गरेको छ । भारतीय प्रशिक्षक मोन्टी देसाई आफ्नो दुईवर्षे अवधि पूरा गरी स्वदेश फर्किएपछि अहिले प्रमुख प्रशिक्षकको पद रिक्त छ ।
क्यानले शनिबार एक सूचना जारी गरी प्रमुख प्रशिक्षकका लागि विज्ञापन गरेको छ । क्यानले नेपाली टिमको नेतृत्व गर्न सक्ने उच्चस्तरीय स्किल भएको र लेभल थ्री को प्रशिक्षक आवश्यक भएको बताएको छ ।
प्रशिक्षका लागि आवेदन मागेको क्यानले यही फेब्रुअरी २८ सम्म आवेदन दिइसक्नुपर्ने बताएको छ ।
नयाँ प्रशिक्षकअन्र्तगत नेपालले अब आईसीसी विश्वकप लिग २ का सिरिजहरू खेल्नेछ । र नेपालको एक दिवसीय अन्तर्राष्ट्रि (ओडीआई) मान्यता कायम राख्नु प्रमुख लक्ष्य हुनेछ । लिगमा नेपालको अवस्था अहिले निकै दयनीय छ ।
८ एसोसिएट्स टिम सहभागी लिगमा १२ खेल खेलेको नेपालले मात्र दुई खेलमा जित हात पारेको छ भने दुई खेल वर्षाका कारण रद्द भएपछि दुई अंक पाएको छ । नेपाल अहिले ६ अंकका साथ अंकतालिकाको सातौँ स्थानमा छ ।

नेपालले लिगको कम्ती शीर्ष तीनभित्र रही विश्वकप ग्लोबल छनोट गर्ने लक्ष्य राखेको छ । पहिलोपटक पनिको यस्तो लिगमा नेपाल तेस्रो स्थानमा रही विश्वकप ग्लोबल छनोटसम्म पुगेको थियो ।
अहिलेको लक्ष्य पनि त्यही हो । त्यतिबेला पनि दयनीय अवस्थामा टिम रहेको बेला मोन्टी देसाईको नेतृत्वमा नेपाली टिमले चामत्कारिक प्रदर्शन गरेको थियो । र पछिल्ल १२ मध्ये ११ खेलमा जित हात पारेको थियो ।
अहिले पनि अवस्था त्यस्तै छ । त्यसैले नेपालले अहिले प्रशिक्षमा उच्च क्वालिटीको खोजी गरिरहेको छ ।
यसपछि नयाँ प्रशिक्षकको अर्को महत्वपूर्ण जिम्मेवारी नेपाललाई टी २० विश्वकपमा छनोट गराउनु हुनेछ । यसै वर्ष हुने एसिया छनोटमा ९ वटा टिमले भाग लिनेछन् ।
जसमा शीर्ष तीन टिम २०२६ मा हुने विश्वकपका लागि छनोट हुनेछन् ।
यसअघिको अमेरिका र वेस्ट इन्डिजमा भएको टी २० विश्वकप खेलेको नेपाल लगातार दोस्रोपटक विश्वकपमा पुग्ने लक्ष्यमा छ ।
नेपालले पहिलोपटक पुबुदु दासानायेकको प्रमुख प्रशिक्षणमा २०१४ मा टी २० विश्वकप खेलेको थियो । त्यसको १० वर्षपछि देसाईको प्रमुख प्रशिक्षणम नेपाल विश्वकपमा पुगेको थियो ।