CAMBRIDGE PUBLIC SCHOOL

कुवेतमाथि नेपालको शानदार जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं: नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।

नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो।

कुवेतका लागि प्रियादा मुरालीले ३१, मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन्। नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक–एक विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनायो। नेपालका लागि कप्तान रुबिना क्षत्रीले सर्वाधिक रन जोडिन्। उनले २७ बलमा ४ चौकासहित अविजित ३४ रन बनाइन्।

यस्तै, इन्दु बर्माले नटआउट २८, ज्योति पाण्डेले १५ र विन्दु रावलले ११ रनको योगदान दिइन्। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकिनन्। कुवेतका लागि मरियम हैदरले सर्वाधिक २ विकेट लिइन्।

यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ।  समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

कुवेतले २ खेलमा १ अंक जोडेको छ। कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

Leave A Reply

Your email address will not be published.