
डडेल्धुरा : साइकोट्रपिक औषधि प्रेस्क्रिप्सनबिना बिक्री गरेको आरोपमा औषधि व्यवस्था विभागको निर्देशनमा सिल गरिएको बोहरा मेडिको सेन्टर सिलबन्दीपछि पनि सञ्चालनमा रहेको भेटिएको छ।
सिमाना न्युजको टोली स्थलमा पुग्दा मेडिकलको अगाडिको सटरमा सिल लगाइएको भए पनि पछाडिको भागबाट सेवा सञ्चालन भइरहेको फेला परेको हो।

त्यहाँ कार्यरत एक कर्मचारीले ‘श्याम सरले खोलेर जानुभएको हो’ भन्दै बिरामी आउने भएकाले सेवा दिनुपरेको बताएका थिए।
औषधि व्यवस्था विभागले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै १४ दिनका लागि सेन्टर सिल गर्न निर्देशन दिएको थियो। सोही अनुसार प्रहरीले जेठ १९ गते सेन्टरमा सिल लगाएको थियो।
यसअघि उक्त मेडिकलले प्रेस्क्रिप्सनबिना साइकोट्रपिक औषधि बिक्री गरेको आरोपमा कानुनी प्रक्रिया सामना गरिरहेको छ।

प्रहरीले मेडिकल सञ्चालक तथा अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामराज बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धानसमेत गरेको थियो।
तर, सिल गरिएको अवस्थामा पनि मेडिकल सञ्चालन भइरहेको तथ्य बाहिरिएपछि नियामक निकायको निर्णय कार्यान्वयनमाथि नै प्रश्न उठेको छ।
सिलबन्दी गरिएको मेडिको सेन्टर कसरी सञ्चालन भयो, कसले अनुमति दियो र किन तत्काल रोकिएन भन्ने विषयमा स्थानीय स्तरमा चासो बढेको छ।
सिमाना न्युजमा सिल लगाइएको मेडिकल भित्रबाट सञ्चालन भइरहेको समाचार प्रकाशित भएपछि डडेल्धुरा प्रहरीले पुनः अनुगमन गर्दै सेन्टरको भित्री भागमा समेत सिल लगाएको छ।
र, यो पनि :
‘मरेको’ ठानिएको छोरा फर्किएपछि खुल्यो सेतो वर्दीभित्रको सन्त्रास !
अमरगढीका स्वास्थ्य शाखा प्रमुख बोहरा अवैध धन्दामा, परे प्रहरीको फन्दामा




