
डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरेको छ। आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रिबन काटेर उक्त कक्षको उद्घाटन गरेका हुन्।
यात्रु सहायता कक्ष बसपार्क बागबजार, स्याउले र तुफानडाँडामा स्थापना गरिएको छ।

यात्रुको सहजता र सुरक्षित यात्रालाई मध्यनजर गर्दै सम्भावित अपराध नियन्त्रण, यात्रु दुव्र्यवहार रोकथाम तथा गुनासो समाधान गर्ने उद्देश्यले कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए।


उनका अनुसार जिल्लाभित्रका साथै बाहिरबाट आउने सवारीसाधनमा यात्रुहरूलाई पर्न सक्ने समस्या समाधानमा सहायता कक्ष सक्रिय रहनेछ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले चाडपर्वमा घर फर्कने यात्रुलाई कुनै असहजता नहोस् भन्दै सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गरे।
उनका अनुसार, यस अभियानले यात्रुलाई ठग्ने, बढी भाडा लिने र अलपत्र पार्ने समस्यालाई न्यूनीकरण गर्नेछ।





