डडेल्धुरा अस्पताल न्युनतम सेवा मापदण्डमा देशभर तेस्रो स्थानमा

dream cafe
learnar

डडेल्धुरा : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाको रेकर्ड अनुसार डडेल्धुरा अस्पतालले देशभरका १२ वटा अस्पतालहरुमध्ये न्युनतम सेवा मापदण्ड मूल्यांकनमा तेस्रो स्थान हासिल गरेको छ।

महाशाखा प्रमुख तथा न्युनतम सेवा मापदण्ड मूल्यांकन समितिका संयोजक डा. सरोज शर्माका अनुसार, भेरी अस्पतालले ८३ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ भने भक्तपुर क्यान्सर अस्पताल ७५ अंकसहित दोस्रो र डडेल्धुरा अस्पताल ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

GBL NEW

समितिले अस्पतालको पूर्वाधार विकास, आन्तरिक तथा वाह्य सरसफाइ, वार्ड र ओपीडी सेवा, टिकट काउन्टर व्यवस्थापन, डाइग्नोसिस सेवा, कर्मचारीहरुको हाजिर प्रक्रिया, प्रशासनिक सेवा, आर्थिक अभिलेख व्यवस्थापन, अस्पताल विकास समिति र विषयगत शाखाहरुको नियमित बैठक तथा निर्णय प्रक्रिया लगायतका विषयहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएको  वरिष्ठ अर्थोपेडिक सर्जन तथा समिति सदस्य डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।

यद्यपि, मुल्यांकनमा अस्पतालको क्यान्टिन सेवाको गुणस्तर सुधार र फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउनुपर्ने सुझाव पनि दिइएको छ।

कार्यक्रममा अमरगढी नगरपालिका नगरप्रमुख डिल्लीराज जोशीले डडेल्धुरा अस्पताल सर्वसाधारण र गरिब जनताको अस्पताल भएको उल्लेख गर्दै यसको थप विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।

उनले काठमाडौं जाँदा प्रत्येक पटक डडेल्धुरा अस्पतालको एजेन्डा लिएर मन्त्रालय पुग्ने गरेको पनि उल्लेख गरे।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले टिम अस्पतालबाट उपक्षेत्रीय हुँदै डडेल्धुरा अस्पतालको विकास भएको र सेवा तथा गुणस्तरमा क्रमशः सुधार भइरहेको बताए।

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले अस्पतालसँगै डडेल्धुरा मेडिकल कलेजको सपना साकार पार्न प्रयासरत रहेको जानकारी दिए।

उनले चिकित्सक दरबन्दीमा अझै केही अभाव रहेको र समाधानको प्रयास जारी रहेको बताए।

स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. शर्माले पनि चाँडै डडेल्धुरा अस्पतालमा आधा दर्जन विशेषज्ञ चिकित्सक आउने जानकारी दिए।

मन्त्रालयका कार्यक्रमहरुमा डडेल्धुरा अस्पतालको चर्चा हुने गरेको भन्दै उनले आगामी दिनमा सेवा गुणस्तर थप सुधारिने विश्वास व्यक्त गरे।

कार्यक्रममा अस्पतालका मेसु नरेन्द्र खनालले अस्पतालको अवस्था र आगामी योजना सम्बन्धी प्रस्तुति दिएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.