
डडेल्धुरा : आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुरमा खरिद गरिएको एक बिलको कुपन नम्बरमा परेको जनाएको छ ।
विभागका अनुसार विजेता कुपन नम्बरबाट गरिएको खरिद कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट भएको हो ।

उपभोक्ताले साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेको खुलेको छ ।
बम्पर उपहार विजेताको थप पहिचान तथा आवश्यक प्रक्रिया भने आन्तरिक राजस्व विभागले अघि बढाइरहेको जनाएको छ।
विभागले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार उक्त कुपन नम्बरमा परेको हो ।
यो कार्यक्रम उपभोक्तामा बिल लिने बानीको विकास गर्दै कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको हो ।

