धार्मिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिँदै डडेल्धुरामा शान्तिपूर्ण र्‍याली

dream cafe
learnar

डडेल्धुरा  : देशका विभिन्न तराई जिल्लामा देखापरेका धार्मिक असहिष्णुता तथा सामाजिक द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै डडेल्धुरामा आइतबार शान्तिपूर्ण सद्भाव र्‍याली आयोजना गरिएको छ।

डडेल्धुरा उद्योग वाणिज्य संघको अगुवाइमा बसपार्क–बागबजारदेखि तुफानडाँडासम्म शान्तिपूर्ण सद्भाव र्‍याली आयोजना गरिएको हो।

GBL NEW

र्‍यालीमार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा आपसी भाइचाराको सन्देश प्रवाह गरिएको संघका अध्यक्ष दिपकबहादुर महताले जानकारी दिए।

र्‍यालीको समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष  महताले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्पराको सम्मानपूर्वक पालन गर्ने अधिकार सुनिश्चित गरेको बताए।

अध्यक्ष महताले पछिल्लो समय देशका विभिन्न स्थानमा धार्मिक तथा सामाजिक सद्भावमा असर पार्ने गतिविधिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै धार्मिक आस्था, जातीय तथा सामुदायिक भावना खलबल्याउने तथा हिंसा र द्वेष फैलाउने कुनै पनि गतिविधि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने स्पष्ट पारे।

उनले जिल्लावासी, उद्योगी–व्यवसायी, नागरिक समाज, राजनीतिक दल, सामाजिक तथा धार्मिक संघसंस्था, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयम, आपसी सम्मान र सहिष्णुताका साथ सामाजिक सद्भाव कायम राख्न आग्रह गरे।

साथै, अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिको पछि नलागी सत्यतथ्यमा आधारित सूचना मात्र प्रवाह तथा ग्रहण गर्न तथा शान्ति, सामाजिक एकता र भाइचाराको वातावरण जोगाउन सबैमा अपिल गरेका छन्।

सद्भाव र्‍यालीमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्था, पत्रकार, उद्योगी–व्यवसायी, महिला उद्यमी संघका पदाधिकारी तथा विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.