तरकारी खेतीमा रमाइरहेका सिद्धराज: पहिले रोजगारी खोज्दै भारत जान्थे, अहिले अरुलाई काम दिन्छन्

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९, सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।

दुई दशकदेखि तरकारी खेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएका छन् ।

GBL NEW

वर्षमा सार्कीले सात लाख रुपैयाँ बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् ।

तरकारी खेतीको कमाइबाट चार जनाको परिवारको खर्चसमेत धानेका छन् । अरुको जग्गामा बस्दै आएका सार्कीले तरकारी खेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गरेका छन् ।

‘तरकारी खेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ,’ सार्कीले भने, ‘जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारी खेतीले धानेको छ ।’

तरकारी खेती नै कमाइ गर्ने एक मात्र माध्यम रहेको सार्की बताउँछन् । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारी खेती गर्दथे । बगरखेती गर्दै जाँदा व्यावसायिक खेती गर्ने हिम्मत जागेको उनी बताउँछन् ।

आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारी खेती गरेको विगत सम्झिँदै सार्की भन्छन्, ‘पहिलो वर्षमै गतिलो आम्दानी हात लागेपछि त्यो रकम तिर्न भ्याएँ, बचेको रकम तरकारी खेतीमै लगाएर काम गर्दै गएँ । त्यसपछि पैसाका लागि कसैलाई गुहार्नुपरेको छैन ।’

कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । तालिम लिएपछि तरकारी खेती गर्ने आधुनिक तौरतरिका सिकेर उनी निपुण बनेका छन्।

तरकारीमा वडामै एक्लो किसान भएकाले नगरपालिकाबाट पनि सार्कीले टनेल अनुदानमा प्राप्त गरेका छन् । प्लाष्टिकको टनेलमा उनले तरकारी उत्पादन गर्दै आएका छन् ।

दुई दशक भारतमा काम गरेका सार्की तरकारी खेतीबाटै भारतको भन्दा तेब्बर बढी कमाइ हुन थालेपछि स्वदेशमा काम गर्न थालेको बताउँछन् ।

कृषि कार्यमा गतिलो कमाइ हुने भएकाले भारतमा रहेका छोरालाई आफूसँगै सघाउन घर बोलाउने सोच सार्कीको छ ।

बाह्रै महिना तरकारी खेती गर्दै आएका उनको बारीमा अहिले गोलभेँडा, बन्दा, बोडी, खुर्सानी, मुला, भान्टा र हरियो मटर लटरम्म फलेको छ ।

हरियो खुर्सानी मात्र एक महिनामा २० हजार रुपैयाँको बेचेको सार्की बताउँछन् । उनको बारीमा गोलभेँडा मात्र ५० हजार रुपैयाँ बढीको उत्पादन भएको छ । सार्की लौका, काँक्रा, तितेकरेला, फर्सीलगायत रोप्ने तयारीमा छन् ।

श्रीमान्‌-श्रीमती दुवैले काम गर्न नसक्ने भएकाले तीन जना दैनिक ज्यालादारीमा कामदार राखेर काम गराउँदै आएको उनको भनाइ छ ।

उत्पादित तरकारी भने स्थानीय बजारमा सहज रूपमा बिक्री हुने गरेको छ । बजार खोज्दै हिँड्नु नपरेको सार्की बताउँछन् । मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उनले बढी जोड दिँदै आएका छन् ।

भविष्यको योजना सुनाउँदै सार्कीले तरकारी खेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोच रहेको बताए ।

‘अहिले वर्षमा ६ देखि ७ लाखसम्म आम्दानी हुँदै आएको छ,’ उनले भने, ‘त्यसलाई बढाएर दोब्बर पार्ने योजना छ ।’

Ddl dental
Leave A Reply

Your email address will not be published.