कांग्रेस (विपी)को केन्द्रीय निर्णयले सुदूरपश्चिममा ‘आपत’, प्रदेश र जिल्लाका नेताले भने : समायोजन यथावत्


डडेल्धुरा : नेपाली कांग्रेस (विपी) को केन्द्रीय तहबाट आएको पछिल्लो निर्णयले सुदूरपश्चिममा राजनीतिक तरंग सिर्जना गरेको छ ।
पार्टी सभापति सुशीलमान शेरचनले नेपाली कांग्रेसमा पार्टी समाहित नहुने आशयको विज्ञप्ति जारी गरेपछि प्रदेश र जिल्लाका नेताहरू खुलेर असन्तुष्ट बनेका हुन्।

तत्कालीन नेपाली कांग्रेस (विपी) सुदूरपश्चिमका सभापति करुणाकर भट्ट र जिल्ला सभापति भरत नेपालीले संयुक्त वक्तव्य जारी गर्दै फागुन १८ गते नेपाली कांग्रेस र नेपाली कांग्रेस (विपी) बीच भएको समझदारीअनुसार पार्टीको सिद्धान्त, संगठन र संरचना नेपाली कांग्रेसमा समाहित हुने सहमति अझै यथावत् रहेको स्पष्ट पारेका छन् ।

उनीहरूले आफूहरू नेपाली कांग्रेसमा समाहित भएर सक्रिय रूपमा पार्टी गतिविधिमा संलग्न रहेको अवस्थामा सभापति शेरचनले एकल रूपमा जारी गरेको विज्ञप्तिले प्रदेश र जिल्लामा अन्योल सिर्जना गरेको बताएका छन्।
नेताद्वयले फागुन १८ गते भएको सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
यस्तै, नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले पनि समायोजन प्रक्रिया नरोकिने बताएका छन् ।
उनले सुदूरपश्चिमका सम्पूर्ण नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमै समाहित हुने प्रक्रियामा कायम रहेको स्पष्ट पारे ।




