
डडेल्धुरा : जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रममार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो ।
मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतीकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताए ।

उनले आगामी जेठ १८ देखि असोज १४ सम्म रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिए ।
उनका अनुसार विभागले विश्व मौसम सङ्गठनअन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)लगायतका अन्तर्राष्ट्रिय जलवायु मोडेलहरूको विश्लेषणका आधारमा मनसुनको ऋतुगत आकलन तयार गरेको हो ।
आकलनमा पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल–निनो साउदर्न ओस्सिलेसन (इएनएसओ), हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपोल (आइओडी), युरोप तथा एसियामा हिउँद र प्रिमनसुन अवधिमा परेको हिमपात तथा अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत आधार बनाइएको विभागले जनाएको छ ।

हाल प्रशान्त महासागरमा इएनएसओ तटस्थ अवस्थामा रहे पनि एल–निनोतर्फ उन्मुख रहेको तथा हिन्द महासागरमा विकसित हुने आइओडी पनि अहिले तटस्थ अवस्थामा रहेको हुमागाईँले बताए ।
उनका अनुसार आगामी मनसुनको अन्त्यसम्ममा आइओडी सकारात्मक अवस्थामा पुग्ने सम्भावना विभिन्न विश्वव्यापी जलवायु मोडेलहरूले देखाएका छन् ।
यद्यपि, ऋतुगत जलवायु समुद्री तथा वायुमण्डलीय प्रणाली, भूउपयोगलगायत विविध कारकमा निर्भर रहने भएकाले जलवायु प्रारूपहरूलाई शतप्रतिशत विश्वसनीय मान्न कठिन हुने उनले स्पष्ट पारे ।
गत वर्षको मनसुनको समीक्षा गर्दै उनले विभागले २०८२ सालको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरे पनि देशका धेरैजसो केन्द्रमा सरदरभन्दा कमदेखि सरदर वर्षा मापन भएको जानकारी दिए । केही स्थानमा भने सरदरभन्दा बढी वर्षा भएको थियो ।
तापक्रमतर्फ भने विभागको आकलनअनुसार नै अधिकांश स्थानमा सरदरभन्दा बढी अधिकतम तथा न्यूनतम तापक्रम रेकर्ड भएको उनले बताए ।
विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।




