
डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, सेवामुखी र जनमैत्री बनाउन ‘नैतिक संहिता’ लागू गर्न निर्देशन दिएको छ।
प्रशासनले आजदेखि जिल्लास्थित सम्पूर्ण कार्यालयहरुमा ‘नैतिक संहिता’ लागू गर्न निर्देशन दिएको हो।


प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधारसम्बन्धी कार्यसूची कार्यान्वयन गर्दै सेवाग्राहीप्रति सम्मानजनक व्यवहार, पारदर्शिता र उत्तरदायित्व बढाउने उद्देश्यले संहिता लागू गरिएको जानकारी दिए।
संहिताअनुसार अब सेवाग्राहीलाई आदरपूर्वक नमस्कार गर्ने, मुस्कानसहित सेवा प्रदान गर्ने, काम सम्पन्न भएपछि धन्यवाद तथा शुभयात्रा भन्ने, आवश्यकभन्दा बढी प्रश्न नगर्ने, रुखो व्यवहार नगर्ने र बोलीचालीमा मिठास कायम राख्ने व्यवस्था गरिएको छ।
साथै, कर्मचारीहरूले तोकिएको पोशाकमा सफा र सुग्घर भई सेवा दिनुपर्ने प्रावधान समेत राखिएको छ।
जिल्लास्थित सबै सरकारी कार्यालयहरूलाई उक्त नैतिक संहिताको अनिवार्य पालना गर्न सीडीओ कोइरालो आग्रह गरेका छन्।



