

डडेल्धुरा : बहुचर्चित ‘हनी ट्र्याप’ प्रकरणमा तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी (बिनु) शाहीले सफाइ पाएकी छन्।
मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले शाहीसहित पाँच जनालाई आरोपबाट मुक्त गर्ने फैसला सुनाएको हो।
अदालतले शाहीसँगै भीमादेवी थापा, सुस्मा विश्वकर्मा, दर्शन पोखरेल र महेन्द्र हमाललाई पनि सफाइ दिएको छ। तर, घटनामा प्रत्यक्ष संलग्न देखिएका ताज मुल भनिने तजम्मुल इस्लामीलाई भने दोषी ठहर गर्दै डेढ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ।
शाही ललितपुरको प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत रहँदा उनीमाथि ‘हनी ट्र्याप’मार्फत आपराधिक लाभ लिएको आरोप लागेको थियो। सोही आरोपमा उनलाई २०८१ असोज ३० गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।
के थियो आरोप ?
प्रकरणमा पीडित भनिएका व्यक्तिलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै ३० लाख रुपैयाँ असुल्ने प्रयास गरिएको आरोप थियो। पीडितले प्रहरीसमक्ष उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो।
घटना बाहिरिएसँगै शाहीलाई जिम्मेवारीबाट हटाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो र पछि निलम्बन गरिएको थियो। घटनाको छानबिनका लागि डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरिएको थियो।
यसै प्रकरणमा प्रहरीले प्रहरी प्रभाग भैँसेपाटीमै कार्यरत एक सहायक हवल्दारसहित चार जनालाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा सुनसरीको इटहरी घर भएकी भीमादेवी थापा, सुस्मा विक तथा तजम्मुल इस्लामीलाई क्रमशः पक्राउ गरिएको थियो।
अदालतको पछिल्लो फैसलासँगै बहुचर्चित यो प्रकरणमा अधिकांश अभियुक्तले सफाइ पाएका छन् भने एक जना दोषी ठहर भएका छन्। शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्।
विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्।
त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।
त्यसअघि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो।




