‘गैरसरकारी संस्थामाथि निगरानी बढ्न जरुरी’

dream cafe
learnar
  • हिक्मत बहादुर सिंह

एक समय डडेल्धुरा जिल्ला गैरसरकारी संस्थाको हवका रूपमा चिनिन्थ्यो। जिल्ला सदरमुकामका अधिकांश घरमा एनजिओ र आइएनजिओका बोर्ड लागेको देख्न पाइन्थ्यो।

Bohora madico

बिस्तारै गैरसरकारी संस्थाहरूलाई सहयोग गर्ने दातृ निकायको लगानी घट्दो क्रममा देखा परिसँगै यस्ता संस्थाहरूको क्रियाशीलता पनि घट्दै गयो। डडेल्धुरामा संस्था स्थापना गरेर सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा काम गर्ने संस्थाहरू पछिल्लो समय न्यून सक्रिय देखिन्छन्।

गैरसरकारी संस्थाको मुख्य लक्ष्य भनेको समाजसेवा हो। गरिब तथा विपन्न समुदायलाई सहयोग, शिक्षा, स्वास्थ्य, महिला तथा बालअधिकार, वातावरण संरक्षण, सुशासन कायम, तथा सरकारी निकायसँगको समन्वयमा सामाजिक क्षेत्रमा लगानी गर्ने यावत गतिविधिहरू गैरसरकारी संस्थाले गर्ने गरेका हुन्छन्।

डडेल्धुरा जिल्ला सामाजिक विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्थाहरूका लागि महत्वपूर्ण कार्यक्षेत्र बनेको छ। शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बालअधिकार, वातावरण संरक्षण, विपद् व्यवस्थापनजस्ता क्षेत्रमा विगतका वर्षदेखि विभिन्न संस्थाहरूले काम गर्दै आएका छन्।

राज्यको पहुँच कमजोर भएका ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न गैरसरकारी संस्थाहरूको भूमिका उल्लेखनीय रहँदै आएको छ।

तर डडेल्धुरामा पछिल्लो समय केही गैरसरकारी संस्थाहरूको कार्यशैली, पारदर्शिता र जवाफदेहिताबारे प्रश्न उठ्न थालेका छन्, जसका कारण ती संस्थामाथि प्रभावकारी निगरानीको आवश्यकता झन् बढेको छ।

गैरसरकारी संस्थाहरूको मूल उद्देश्य समाजसेवा भए पनि कतिपय अवस्थामा ती संस्था सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने माध्यम बन्ने गरेको आरोप लाग्ने गरेको छ। पछिल्लो समय गैरसरकारी संस्थामा बढ्दो राजनीतिक गाँठोले यसको उद्देश्य र विश्वसनीयतामाथि प्रश्न उठाउन थालेको छ।

गैरसरकारी संस्था कुनै पनि राजनीतिक दल वा विचारधाराबाट स्वतन्त्र हुनुपर्ने हो। तर व्यवहारमा भने कतिपय संस्थाहरू राजनीतिक प्रभाव र स्वार्थको घेराभित्र पर्न थालेका छन्।

HARDIK AGRo NEw

हालै डडेल्धुरामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गैरसरकारी संस्थाका नेतृत्व स्वयं राजनीतिक गतिविधिमा सक्रिय रहेको उदाहरण ताजा रूपमा देख्न सकिन्छ। यसले समुदायमा गैरसरकारी संस्थाप्रति अविश्वास बढाउने खतरा पैदा गरेको छ।

विभिन्न दातृ निकायबाट आउने रकमको सही सदुपयोग भयो कि भएन भन्ने विषयमा स्थानीय तह, सरोकारवाला निकाय र मिडिया क्षेत्रले पर्याप्त जानकारी पाउन सकेका छैनन्।

कतिपय संस्थाका गतिविधि कागजमै सीमित हुने, लक्षित वर्गसम्म सेवा नपुग्ने र परियोजना समाप्त भएपछि त्यसको दीर्घकालीन प्रभाव नदेखिने समस्या पनि देखा परेको छ। गैरसरकारी संस्थाहरूले आफूले सञ्चालन गरेका गतिविधिहरूको सार्वजनिकरण गर्न समेत कञ्जुस्याइँ गर्ने गरेको देखिन्छ।

डडेल्धुरामा कार्यरत केही संस्थाले राम्रो काम गरेर समुदायको विश्वास जितेका उदाहरण पनि छन्। तर केही संस्थाको कमजोरीका कारण समग्र गैरसरकारी क्षेत्रप्रति नै नकारात्मक धारणा बन्ने खतरा बढिरहेको पाइन्छ।

त्यसैले राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन गर्ने र कमजोरी देखिएका संस्थालाई सुधारतर्फ उन्मुख गराउने व्यवस्था आवश्यक छ। यसका लागि जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह र समाज कल्याण परिषद्ले चासो र निगरानी बढाउनु जरुरी छ।

सबै गैरसरकारी संस्थालाई एउटै दृष्टिले हेर्न मिल्दैन। जिल्लामा कतिपय संस्थाहरू निष्पक्ष रूपमा समाजसेवामा समर्पित छन् र समुदायको जीवनस्तर सुधार्न महत्वपूर्ण काम गरिरहेका छन्। तर सीमित संस्थामा देखिएको राजनीतिक हस्तक्षेप र एकलकाँटे शैलीमा गरिएका गतिविधिले समग्र जिल्लाकै छविमा असर पारिरहेको छ।

अन्त्यमा, गैरसरकारी संस्थाहरू विकासका सहयात्री हुन्, विकासका साझेदार हुन्; राजनीतिक प्रयोगका माध्यम होइनन्।

यदि यस्ता संस्थाहरू दलगत स्वार्थबाट मुक्त भई निःस्वार्थ रूपमा समाजसेवा र परियोजनाको उद्देश्य प्राप्तिमा लाग्न सके भने मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्।

अन्यथा गैरसरकारी संस्थामा देखिने विकृति र गलत गतिविधिबारे मिडिया सशक्त रूपमा उभिनेछ।

सिंह नेपाल पत्रकार महासंघ, डडेल्धुरा शाखाका अध्यक्ष र सिमाना न्युजका सम्पादक हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.