
डडेल्धुरा : नेपाली कांग्रेसकी अमरगढी नगरसचिव देवकी भट्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा गरेकी छन्।
लामो समयदेखि पार्टीमा आबद्ध रहँदै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी उनले आज सामाजिक सञ्जाल मार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी हुन्।

उनले पारिवारिक विरासत र बाल्यकालदेखिको प्रजातान्त्रिक सोचका कारण नेपाली कांग्रेससँग जोडिएको उल्लेख गर्दै पार्टीको ऐतिहासिक योगदानप्रति गर्व व्यक्त गरेकी छन्।
राणा शासनविरुद्धको संघर्ष, प्रजातन्त्र प्राप्ति तथा देशका विभिन्न राजनीतिक परिवर्तनमा पार्टीले खेलेको भूमिकालाई स्मरण गर्दै उनले बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, किशुनजी लगायत अग्रज नेताहरूको त्याग, समर्पण र निष्ठाबाट प्रभावित भएर राजनीतिमा लागेको बताएकी छन्।
तर वर्तमान अवस्थामा पार्टीभित्र इमान्दार, लगनशील र योग्य कार्यकर्ताको उचित मूल्याङ्कन नहुने, चाकरी, चाप्लुसी, नातावाद र कृपावाद हावी हुँदै गएको आरोप उनले लगाएकी छन्।

यस्तो परिवेशमा पार्टी रूपान्तरण लगभग असम्भव देखिएको उनको भनाइ छ। सुदूरपश्चिमका अग्रज नेता तथा पार्टीका धरोहर व्यक्तित्व शेर बहादुर देउवाप्रति गरिएको व्यवहारले आफूलाई थप मर्माहत बनाएको उनले उल्लेख गरेकी छन्।
सबैलाई समेटेर जनताको आकांक्षा अनुसार पार्टी अघि बढ्नुपर्ने आवश्यकतालाई बेवास्ता गरिएकोप्रति पनि उनले असन्तोष व्यक्त गरेकी छन्।
पार्टीमा रहँदा सहयोग गर्ने सम्पूर्ण साथीहरू, अग्रज नेतागण तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उनले सामाजिक र राजनीतिक क्षेत्रमा आफ्नो सक्रियता भने निरन्तर रहने प्रतिबद्धता जनाएकी छन्।
उनको राजीनामा आजैका मितिबाट लागू हुने जनाइएको छ। चुनावको मुखैमा उनले राजीनामा दिएपछि कांग्रेसलाई ठूलो झट्का लागेको छ।
नेपाली कांग्रेस डडेल्धुराबाट नैनसिंह महर उम्मेदवार छन्।
यस्तो छ उनको स्टाटस :
आदरणिय दाजुभाई तथा दिदीबहिनीहरु,
पारिवारिक विरासत अनि बाल्यकालदेखिकै प्रजातान्त्रिक सोच, आचरण प्रतिको आकर्षण एबं तदनुरूपकै सिद्धान्त अपनाएको दल नेपाली कांग्रेसको एक सिपाही भएर काम गरेको लामो समय बितेको छ। ऐतिहासिक पार्टीमा रहेर सामाजिक राजनीतिक क्षेत्रमा काम गर्दा गौरवको महसुस गरेको छु। राणा शासन विरुद्धको लडाइँ, प्रजातन्त्र प्राप्तिको लडाईं,एबं नेपालका प्रत्येक राजनीतिक परिवर्तनमा सधैं जनताको पक्षमा पार्टीले गरेको संघर्ष कसैबाट लुकेको छैन। इतिहासका प्रत्येक कालखण्डमा नेपाली कांग्रेसका आदरणिय व्यक्तित्वहरू बिपी, सुवर्ण शमशेर, गणेशमान, किशुन जी लगायत अग्रज नेताज्यूहरुको अविचलित त्याग, समर्पण तथा निष्ठाबाट प्रभावित भएरै बाल्यकालदेखि नै नेपाली कांग्रेससङ्ग आबद्ध भएकी थिएँ। तर अहिलेको अवस्थामा इतिहासका सम्पूर्ण तथ्यहरु एकातिर अनि हाम्रो व्यवहार, सोच, दृष्टिकोण अर्कैतिर भएको तथ्य पनि हाम्रासामु छर्लङ्ग छ। स्थानिय तहदेखि केन्द्रसम्म इमान्दार, लगनशील ,योग्य कार्यकर्ताको मूल्याङ्कन शून्यप्रायः भई चाकरि, चाप्लुसी, नातावाद, कृपावाद पार्टीमा हावी हुँदै गइरहेको यथार्थसामु पार्टीको रूपान्तरण लगभग असम्भव भइसकेको छ। सबैलाई समेटेर जनताको मनोकांक्षा अनुसार पार्टी अघि बढाउनुपर्ने अहिलेको आवश्यकताको सम्बोधन गर्नुको सट्टा सुपका अग्रज धरोहर आदरणिय व्यक्तित्व शेर बहादुर देउवालाई समेत अपमानजनक तरिकाले गरिएको व्यवहार देख्दा यो पार्टीमा रहेर सामाजिक राजनीतिक क्षेत्रमा जोडिएर अगाडि बढ्न कठिन महसुस गरेको छु । पार्टीमा रहेर काम गर्दा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरु, आफन्तजन,अग्रज नेतागण अनि निरन्तर प्रेरणा दिनुहुने जनसमुदायमा हार्दिक आभार एबं सम्मान प्रकट गर्दछु । यसर्थ सामाजिक,राजनीतिक क्षेत्रमा रहेर आफूले गरिरहेका कामहरुलाई सदैव निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्दै आजैका मितिबाट लागू हुने गरी नेपाली कांग्रेसको अमरगढी नगरसचिव अनि साधारण सदस्यसमेत नरहने निर्णय गरेकी छु साथै यो निर्णयबाट मेरा शुभचिन्तक आफन्त, साथीभाईहरुमा पर्न गएको पीडाप्रति म क्षमाप्रार्थी छु ।
जय नेपाल !!



